सुदूरपश्चिमका नौ वटै जिल्लामा आज हुने प्रतिनिधि र प्रदेशसभाको उम्मेदवार मनोनयन दर्ताको सबै तयारी पूरा भएको छ । सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेम भट्टले यहाँका १६ वटै प्रतिनिधि र ३२ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा मनोनयन दर्ताको तयारी पूरा भएको जानकारी दिए।
“अहिलेसम्म निर्वाचन अधिकृतको कार्यालय मनोनयन दर्ताका लागि आएका छैनन् ।” उनले भने–“ निर्वाचन कार्यालय तयारी अवस्थामा छन् ।” सुदूरपश्चिमको डडेल्धुराबाट प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको मनोनयन दर्ता हुनेछ । आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा १६ लाख ५८ हजार चार मतदाताले मतदान गर्ने पाउनेछन् ।
प्रदेश निर्वाचन कार्यालय अनुसार सबैभन्दा बढी मतदाता कैलालीमा पाँच लाख पाँच सय १४ जना रहेका छन् । कैलालीमा प्रतिनिधिसभाका पाँच र प्रदेशसभाका दश वटा निर्वाचन क्षेत्र छन् । त्यसैगरी कञ्चनपुरमा तीन लाख दुई हजार पाँच सय नौ जना, डडेल्धुरामा ९१ हजार २०१, एक लाख ५० हजार एक सय ५६ मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
त्यस्तै सुदूरपश्चिमको अर्को पहाडी जिल्ला दार्चुलामा ८९ हजार एक सय ५४, डोटीमा एक लाख २४ हजार आठ सय ७०, बझाङमा एक लाख २२ हजार तीन सय ७६ मतदाता रहेका छन् । यहाँको अछाम जिल्लामा एक लाख ५८ हजार ६ सय ५७ मतदाता छन् ।