सुदूरपश्चिमका ५ जिल्लामा गठबन्धनबाट बाहिरियो नेकपा एस, एकल उम्मेदवारी
2022/10/10, 6:48
 
dd

 सुदूरपश्चिमका ५ जिल्लामा सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीले एकल उम्मेदवारी दिएको छ। प्रदेशमा ९ जिल्ला रहेकोमा एकीकृत समाजवादीले ५ जिल्लामा एकल उम्मेदवारी पेस गरेको हो। अन्य ४ जिल्लामा भने गठबन्धनमा रहेर चुनावमा भाग लिएको छ। 

गठबन्धनबाट संघ र प्रदेशमा कुनै पनि एउटा क्षेत्र नपाएको कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला र बाजुरामा सत्ता साझेदार एकीकृत समाजवादीले बागी उम्मेदवारी दिएको छ। कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ को (२) मा एकीकृत समाजवादीबाट सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकासमन्त्री खड्काले उम्मेदवारी दिएका छन्। यहाँ गठबन्धनबाट कांग्रेसका संविधानसभा सदस्य बहादुरसिंह थापाले उम्मेदवार छन्।

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश रावलले कञ्चनपुर प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ३ को (१) मा उम्मेदवारी दिएका छन्। एकीकृत समाजवादीले गठबन्धनमा कञ्चनपुर ३ (१) पाउनु पर्ने दाबी अन्तिमसम्म गरेको थियो। तर यो क्षेत्रमा गठबन्धनबाट माओवादी केन्द्रका संविधानसभा सदस्य टेकेन्द्रप्रसाद भट्टले टिकट पाएका छन्। गठबन्धनविरुद्ध उम्मेदवारी दिएका एकीकृत समाजवादीका खड्का र रावल ०७४ सालको चुनावमा नेकपा एमालेबाट निर्वाचित भएका थिए। कञ्चनपुरमा एकीकृत समाजवादीलाई बाहिर राखेर माओवादी केन्द्र र नेपाली कांग्रेसले भागबण्डा गरेका छन्। 

प्रतिनिधिसभाका तीन क्षेत्रमध्ये सत्ता गठबन्धनबाट क्षेत्र नम्बर १ माओवादी, २ र ३ कांग्रेसले पाएको छ। प्रदेश सभाका ६ क्षेत्रमध्ये कांग्रेसले ४ क्षेत्र आफूसंग राख्दा माओवादी केन्द्रले २ सीट पाएको छ। प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा समाजवादीका नेता डाक्टर तारा जोशीले गठबन्धनविरुद्ध प्रदेश सभा (२) मा उम्मेदवारी दिएका छन्। ०७४ सालको चुनावमा एमालेबाट उम्मेदवार बनेका जोशी डडेल्धुराका तत्कालीन कांग्रेस सभापति कर्णबहादुर मल्लसँग झिनो मतान्तरले पराजित भएका थिए। यो क्षेत्र समाजवादीले पाउनुपर्ने दाबी थियो।

डडेल्धुरा प्रदेश सभा (२) मा कांग्रेसबाट सुदूरपश्चिमका सामाजिक विकासमन्त्री गोविन्दराज बोहरा र (१) मा माओवादीका सुदूरपश्चिम इन्चार्ज खगराज भट्ट उम्मेदवार छन्। यस्तै, संघ माओवादी केन्द्रलाई छोडेर कांग्रेसले दुवै प्रदेश सभा क्षेत्र आफूसँग राखेको बैतडीमा एकीकृत समाजवादीका नरेन्द्र विष्टले प्रदेश सभा (१) मा उम्मेदवारी दिएका छन्। 

गठबन्धनबाट प्रदेश सभा (१) मा कांग्रेसका वीरबहादुर विष्टको उम्मेदवारी परेको छ। दार्चुला प्रदेश सभा (२) मा एकीकृत समाजवादीले वीरबहादुर ठगुन्नालाई उम्मेदवार बनाएको छ। यहाँ गठबन्धनबाट माओवादी केन्द्रका नेता समेत रहेका प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामी (सन्तोष) उम्मेदवार छन्।

बाजुराको प्रदेश सभा (१) मा एकीकृत समाजवादीका नरेशकुमार शाहीले गठबन्धनविरुद्ध उम्मेदवारी दिएका छन्। माओवादी केन्द्रको भागमा परेको यो क्षेत्रमा गठबन्धनबाट कर्णबहादुर विक उम्मेदवार छन्।