सुदूरपश्चिममा आधा दर्जन पूर्वमेयर सांसदको रेसमा
2022/10/11, 12:56
 
ss

कैलाली- सुदूरपश्चिम प्रदेशका अघिल्लो पटक मेयर जितेका केही नेताहरू अहिले प्रदेशसभा र प्रतिनिधिसभाको उम्मेदवार बनेका छन् । कैलाली, कञ्चनपुर र बैतडीमा २०७४ को स्थानीय तहमा प्रमुख भएकाहरू अहिले प्रदेश र संघ सांसद हुने मैदानमा उत्रिएका हुन् ।

कैलालीको टीकापुर नगरपालिकाका पूर्वप्रमुख तपेन्द्र रावल एमालेको तर्फबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका छन् । यहाँ कांग्रेसबाट पूर्वमन्त्री रामजनम चौधरी र नागरिक उन्मुक्तिबाट रेशम चौधरी पत्नी रन्जिता श्रेष्ठ चौधरी उम्मेदवार बनेकी छन् ।

त्यस्तै अघिल्लो पटक गौरीगंगा नगरपालिकामा मेयर निर्वाचित भीम देउवा अहिले एमालेको तर्फबाट प्रदेशसभाको उम्मेदवार बनेका छन् । यहाँ सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारी उम्मेदवार बनेका छन् ।  कैलालीकै ४ (ख) प्रदेशसभा अत्तरिया नगरपालिकाका पूर्वमेयर हरिसिंह साउद उम्मेदवार बनेका छन् । एमालेबाट उम्मेदवार बनेका साउदको प्रतिस्पर्धा कांग्रेसका प्रकाश बमसँग हुने भएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिकामा अघिल्लो पटक मेयर रहेका सुरेन्द्र विष्ट अहिले एमालेबाटै ३ (ख) उम्मेदवार बनेका छन् । उनीसँग गठबन्धनको तर्फबाट कांग्रेसका बेलबहादुर रानामगर उम्मेदवार छन् ।  बैतडीका दुई क्षेत्रमा पनि पूर्वमेयरहरू सांसदको प्रतिस्पर्धामा छन् । बैतडीको पाटन नगरपालिका पूर्वमेयर केशव चन्द अहिले प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनी कांग्रेसका नेता हुन् । त्यहाँ सत्ता गठबन्धनबाट माओवादी केन्द्रका नरेन्द्र कुँवर उम्मेदवार छन् ।  सुर्नया गाउँपालिका प्रमुख वीरबहादुर विष्ट अहिले बैतडी प्रदेशसभा (क) बाट कांग्रेसका उम्मेदवार बनेका छन् । यहाँ एमालेका सुरेन्द्र पाल उम्मेदवार छन् ।