कञ्चनपुर- बुधवार देखी परेको अविरल वर्षका कारण धान खेती नष्ट हुने अवस्थामा पुगेको छ । पाकेर पहेंलपुर भएको धान वर्षाका कारण काट्न नपाएपछि बढी पाकेर बाला झर्न थालेका छन् भने कतिपय किसानले काटिसकेका धान भित्र्याउन नपाउँदा खेतमै उम्रिन थालेका छन् । यो समयमा कृषकहरू धान बाली भित्र्याउने चटारोमा हुन्थ्यो । अधिकांशले धान बाली भित्र्याई पनि सक्थे । तर यसपाला वर्षाका कारण खेतमा धान पाकेर पहेंलपुर भए पनि भित्र्याउन सकिएको छैन ।
दसैँको केही दिन अघि काटिएको धान अहिले पानीका कारण खेतमै उम्रिन थालेको कञ्चनपुरका किसान नवराज अवस्थीले बताए । यस्तै कञ्चनपुरकै भिमदत्त ११ भुजेलाका जनक धामीको गत वर्ष कात्तिक पहिलो साता आएको बेमौसमी वर्षाले एक बिघाको काटेको धान कुहिएको थियो । ‘गत वर्ष एक बिघा काटेको धान वर्षका कारण कुहियो , यस वर्ष पनि धान नकाटेरै बाला झर्न थाल्यो । खेतमै धान उम्रिन थाल्यो ” धामीले भने ।
कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार जिल्लाको दक्षिणी क्षेत्रमा धान बालीमा बढी क्षति भएको छ । पाकेको धान खेतमै ढलेर कुहिने र उम्रिने अवस्था आएको छ भने खेतहरू डुबानमा परेकाले पाकेको धान खेतमै उम्रिन थालेका कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख दिलबहादुर विष्टले बताए ।
‘धान खेतमै कुहिने अवस्था आइसकेको छ, धेरैजसो खेत डुबानमा परेको छ,’विष्टले भने ‘अझ पनि वर्षा नरोकिए सबै धान उम्रिनेछ जस कारण उत्पादनमा ठूलो ह्रास आउन सक्छ ।’ कञ्चनपुरमा ४८ हजार हेक्टरमा धान खेती हुने गरेको छ । यहाँ धानको उत्पादकत्व प्रतिहेक्टर ४ मेट्रिक टन छ । गत वर्ष झैँ यस पटक पनि उत्पादनमा ह्रास आउने अनुमान गरिएको छ ।
गत वर्ष धानको उत्पादकत्व दुई अढाई मेट्रिक टनमा झरेको थियो । कृषि ज्ञान केन्द्रका अनुसार दक्षिणी क्षेत्रको लालझाडी, बेलौरी, पुनर्वास र वेल्डाँडीमा बढी क्षति भएको छ । उक्त क्षेत्र धान उत्पादनका लागि अब्बल मानिन्छ । धान उत्पादनका लागि जिल्लाकै आधाभन्दा बढी भाग ओगटेको उक्त क्षेत्रमा कटान र डुबान पनि बढी हुने गरेको छ ।
लालझाडी, बेलौरी र पुनर्वास क्षेत्रमा अधिकांश धान खेतहरू डुबानमा परेका छन् । पाकेर ढलेको धान खेतमै उम्रिन लागेको ज्ञान केन्द्रका प्रमुख विष्टले बताए । उनले डुबानमा परेको धानको दानासमेत काम नलाग्ने बताए । धान बाली मात्रै नभई वर्षाले तरकारी खेतीमा पनि असर पुर्याएको छ ।
हिउँदे तरकारी उत्पादनमा पनि ह्रास आउने विष्टले बताए । अहिले हिउँदे तरकारी लगाउनुपर्ने बेला हो । तर वर्षाले तरकारी लगाउन नै नसकिएको र लगाएको पनि सुकेको विष्टले बताए । तोरीको उत्पादनमा पनि ह्रास आउन सक्ने देखिएको छ ।