नेपाली काँग्रेस कैलालीले आफ्नो पार्टी सम्बद्ध बागी तथा स्वतन्त्र उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता गर्न आग्रह गरेको छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै काँग्रेस कैलालीको जिल्ला कार्य समितिले यस्तो आग्रह गरेको हो।
‘नेपाली काँग्रेस पार्टीसंग सम्बद्ध उम्मेदवारहरुलाई आफ्नो उम्मेदवारी फिर्ता लिई नेपाली काँग्रेस एवं गठबन्धन दलका आधिकारिक उम्मेदवारहरुका पक्षमा लागेर सहयोग गर्न हुन नेपाली काँग्रेस जिल्ला कार्य समिति कैलाली यसै विज्ञप्तीमार्फत हार्दिक अपिल गर्दछ’ काँग्रेस कैलालीका सभापति नारायणदत्त भट्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
बागी तथा स्वतन्त्र उम्मेदवारलाई गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई सहयोग गर्न पनि भनिएको हो। आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचन हुदैछ। सो निर्वाचनका लागि नेपाली काँग्रेस तथा गठबन्धन दलका आधिकारिक उम्मेदवारविरुद्ध कैलालीमा बागी तथा स्वतन्त्र उम्मेदवार पनि चुनावी मैदानमा उत्रिएका छन्।