प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारहरूले मनोनयन दर्ता गराएँंगै कैलालीको चुनावी माहौल तातेको छ । कैलाली–५ बाट यसपाली सत्तारुढ गठबन्धनका साझा उम्मेदवार काग्रेंस नेता डिल्लीराज पन्त चुनावी दौडमा छन् । एमालेबाट भने नारदमुनी राना नै यसपटक पनि उम्मेदवार बनेका छन् । अर्कोतर्फ काग्रेंसले नै कारवाही गरेका पुस्करनाथ ओझा स्वतन्त्र उम्मेदवार बनेपछि कसले बाजी मार्ला अड्कलबाजी गर्न थालिएको छ ।
२०७४ सालको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा कैलाली–५ मा नेपाली कांग्रेसकी आरजु राणा देउवा र बाम गठबन्धनबाट एमालेका नारदमुनी रानाबीच चुनावी प्रतिस्पर्धा भयो। प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी भएकाले पनि राणाले सहजै चुनाव जित्ने अनुमान थियो । तर, उनलाई एमालेका नारदमुनी रानाले पराजित गरे। यसपटक आरजुलाई धनगढीमाथि विश्वास नलागेर उनले समानुपातिकनै रोजेकी छिन् । आरजुले आफ्नो क्षेत्रमा निवर्तमान प्रदेश सभा सदस्य समेत रहेका डिल्लीराज पन्तलाई उठाएकी छिन् । प्रदेशमा आफ्ना स्वकीय प्रकाश देउवालाई पठाएर आरजुले पन्तलाई संघको उम्मेदवार बनाएकी हुन् ।
२०७४ को निर्वाचनमा बाम गठबन्धन हुँदा समेत प्रदेशसभा सदस्य जितेको बताउँदै उम्मेदवार पन्त यसपटक झन ५ दलीय गठबन्धनले जित सहज बनाएको दावी गर्छन् । तर, पन्तलाई कांग्रेसले नै कारवाही गरेका पुस्करनाथ ओझाले चुनावमा निकै सकस पार्ने देखिएको छ । २०७४ सालमा आरजुलाई असहयोग गरेको आरोप लगाउँदै ओझालाई कांग्रेसले निष्काशन गरिसकेको छ । यसपटक ओझा धनगढीका जनताको स्वाधिनताका लागि चुनावमा होमिएकाले जित निश्चित भएको दाबी गर्छन ।
२०७४ सालमा बाम गठबन्धनबाट बिजयी भएका एमाले नेता नारदमुनी राना पनि यसपटक आफूलाई झन् बलियो उम्मेद्वारका रूपमा प्रस्तुत गरेका छन् । सबैभन्दा पहिलो जित्ने आधार पार्टीको सिद्धान्त, राष्ट्रियता र स्वाधिनतानै रहेको रानाको दावी छ । आफू निर्वाचित भएपछि कैलाली-५ मा भएका कामले झन् आफूलाई जित्न सहज हुने उनको दाबी छ । कैलाली-५ मा काग्रेंसको वर्चश्व र ५ दलीय गठबन्धनले स्वतः जित निश्चित हुन्छ। तर, स्वतन्त्र उम्मेद्वार र कांग्रेसभित्रको अन्तरकलहले गठबन्धनका उम्मेद्वारलाई जित्न सकस नै हुन्छ। यता, एमालेलाई पनि जित्न त्यति सहज भने छैन । त्यस कारण पनि कैलाली-५ को चुनावी माहोल निकै रोचक हुने देखिन्छ।