एमाले सुदूरपश्चिमले गर्‍यो पाँच बागी उम्मेदवारलाई कारबाही 
2022/10/14, 3:38
 
एमाले सुदूरपश्चिमले गर्‍यो पाँच बागी उम्मेदवारलाई कारबाही 

कैलाली - नेपाल कम्युनिस्ट पार्टी एमालेले सुदूरपश्चिममा बागी बनेका उम्मेदवारलाई कारबाही गरेको छ । पार्टीले आधिकारिक टिकेट दिएका उम्मेदवार विरुद्ध उम्मेदवारी दर्ता गराएकालाई पार्टीबाट निष्कासन गरिएको हो । सुदूरपश्चिम प्रदेश कमिटी सदस्य द्वय टेकबहादुर हमाल र खेम सुवेदी सहितका पाँच जना नेतालाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरिएको प्रदेश कमिटीले विज्ञप्ति मार्फत जानकारी गराएको छ । 

एमालेका सुदूरपश्चिम कमिटी सचिव धर्मराज पाठकले जारी गरेको विज्ञप्तिअनुसार प्रदेश कमिटी सदस्य हमाल र सुवेदीसहित केन्द्रीय सल्लाहकार परिषद्का सदस्य भक्तबहादुर अधिकारी, राष्ट्रिय मुक्ति समाजका केन्द्रीय सदस्य विजयसिंह मयाल र टेकबहादुर साउँदलाई केन्द्रको निर्देशनअनुसार निष्कासन गरिएको हो । 

प्रदेश समिति सदस्य सुवेदीले कञ्चनपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर १, अधिकारीले क्षेत्र नम्बर १ को प्रदेश सभा (१) , हमालले कञ्चनपुर २ को प्रदेश सभा (१) साउँदले कञ्चनपुर क्षेत्र नम्बर १ को प्रदेश सभा (२) र मयालले प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा बागी उम्मेदवारी दिएका छन् ।