धनगढी – कैलालीको गोदावरी नगरपालिका १२ ओलानीका २० वर्षे आनन्द कामी घरको गुजारा चलाउन गाउँमै कपाल काट्ने सैलुन व्यवसाय चलाउँछन् । अति विपन्न परिवारमा जन्मिएका उनी आमा नरु देवी कामी र बुवा स्व। खडक कामीका कान्छो छोरा हुन् । घरको जीविका चलाउन उनी २ वर्षदेखि कपाल काट्ने काम गर्छन् । तर खेलप्रतिको मोहले उनी हालसम्म ५ वटा स्वर्ण पदक विजेता बन्न सफल भएका छन् ।
गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद अन्तरगत कराँते प्रतियोगितामा उनले सुदूरपश्चिम प्रदेशलाई स्वर्ण पदक दिलाउन सफल भएका छन् । प्रतियोगिता अन्तरगत पर्वत जिल्लाको कुस्मामा भइरहेको राष्ट्रिय कराँते प्रतियोगितामा कामीले ५० किलो ग्राम तौल समूह अन्तरगत कुमुतेमा स्वर्ण पदक जित्न सफल भएका हुन् ।
योसँगै उनको स्वर्ण पदक सङ्ख्या ५ पुगेको हो । हालसम्म सहभागी भएको प्रतियोगितामा स्वर्ण पदक मात्रै जितेको बताउने उनले आफ्नो नशा नशामा खेल दौडिरहेको बताउँछन् । ९ वर्षको उमेरमै खेल जीवन सुरु गरेका उनलाई कराँते खेलप्रतिको अभिप्रेरणा भने कराँतेका प्रशिक्षक सन्तोष बिकबाट मिलेको हो ।
आफ्नो गुरुलाई सम्झिँदै उनले भने, ‘मलाई सानैदेखि सन्तोष गुरुले नै प्रशिक्षण गर्दै आउनुभएको छ । मेरो खेल जीवनको यात्रा ११ वर्ष भयो । यहाँसम्मको सफलताको पछाडि उहाँको हात छ ।’ उनी हालसम्म भारतको पन्जाबमा भएको इन्डो नेपाल, धनगढीमा भएको नवौँ अन्तर्राष्ट्रिय प्रतियोगिता, अछाममा भएको प्रदेश स्तरीय प्रतियोगिता, भारतको टनकपुरमा भएको इन्डो नेपाल प्रतियोगितामा गोल्ड मेडल जित्न सफल भएका हुन् ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण हात पारेपछि उनलाई नगदसहित बधाई आइरहेको छ । कैलालीका कराँते प्रशिक्षक प्रकाश कुमार चन्दका अनुसार उनलाई ८ औँ साग गेम्सका पदकधारी मकेंद्र बहादुर सिंहले ५ हजार अमेरिकामै बसोबास गर्दै आएका करन बहादुर चन्दले १० हजार नगद सहित बधाई दिएका छन् ।
हालसम्म प्लस टु सम्मको अध्ययन पूरा गरेका कामी कराँतेमा ब्ल्याक बेल्टधारी खेलाडी हुन् । उनी आउँदो दिनमा खेललाई व्यावसायिक रूपमा अगाडि लैजाने बताएका छन् । ‘घरमा मैले अन्य काम गरे पनि खेलबाट पनि जीविकोपार्जन गर्न सकिन्छ । व्यावसायिक रूपमा अगाडि बढ्न सकिन्छ । कमाइसँगै आफू जन्मेको ठाउँ र देशलाई चिनाउन सकिन्छ’, खेलमा भविष्य छैन भनी बिदेसिने खेलाडीलाई लक्षित गर्दै उनले भने, ‘कसैको बाध्यता होला तर जसले गर्न चाहन्छ । उ निरन्तर गरिरहेको हुन्छ । अन्यत्र भविष्य खोज्नु पर्दैन होला जस्तो लाग्छ ।’