आज काग तिहार मनाइँदै
2022/10/23, 12:07
 
dd

आज कार्तिक कृष्ण त्रयोदशी अर्थात् कागतिहार । बिहानैदेखि यमराजको दूतका रुपमा कागलाई मीठा चीजबीज खान दिएर यो पर्व मनाइँदै छ ।

यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो–मीठो खान दिइ खुसी पार्ने गरिएको हो । लोक व्यवहारमा काग घरमा आएर कराएमा शुभ बोल भन्ने प्रचलनसमेत छ ।

काग घरवरपर आएर कराएमा उसले केही खबर लिएर आएको विश्वास समेत गर्ने गरिन्छ । आफ्नो परिवारमा कसैको मृत्यु भएको छ भने उनीहरूको सम्झना गर्दै कागलाई सन्देशवाहक पक्षीका रूपमा विभिन्न परिकार तथा मिठाइ राखिदिएर बोलाउने गरिन्छ।

तिहारको दोस्रो दिनलाई कुकुर तिहार भनिन्छ। कुकुरलाई टीका र माला लगाइदिएपछि मीठा परिकार खान दिएर पूजा गरिन्छ। कुकुरलाई घरको रखवाला एवं इमानदार जनावर मानिन्छ । घरपरिवारको सुरक्षा गरेबापत कुकुरको पूजा गरिँदै आएको छ।

तिहारको तेस्रो तथा महत्त्वपूर्ण दिन लक्ष्मीपूजा हो। गाईले परापूर्वकालदेखि नै मानिसलाई धेरै गुण लगाएबापत बिहान गाईको र साँझ धनकी देवी लक्ष्मीको पूजा गरिन्छ। कृषि व्यवसायमा गोरुले पुयाएको योगदानको कदर गर्दै तिहारको चौथो दिन गोरु एवं गोवद्र्धन पर्वतको प्रतीकको पूजा गरिन्छ ।

तिहारको अन्तिम दिनलाई भाइटीका भनिन्छ। भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई सप्तरङ्गी टीका लगाइदिई मखमली र सयपत्री फूलको माला लगाइदिएर सगुन खान दिने प्रचलन छ।