प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा नेपाली काङ्ग्रेसकै वडा समितिले चुनाव बहिष्कार गर्ने भएको छ ।
वडाको समग्र विकासका लागि राखिएका मागहरू विश्वासिलो रुपमा पूरा हुने आधार नदेखिएको भन्दै भागेश्वर गाउँपालिका–५ को वडा समितिले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको हो । वडा सभापति जंगबहादुर थापामगरले जारी गरेको विज्ञप्तिमा कुनै पनि उम्मेदवारलाई भोट नदिने निर्णय बहुमतबाट पारित गरिएको उल्लेख गरिएको छ ।
थापामगरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनमा वडा कमिटीले समग्र वडाको विकासको लागि राखेका मागहरू विश्वासिलो रुपमा पूरा हुने आधार नदेखिएको अवस्थामा चुनाव बहिष्कार गर्ने र कुनै पनि उम्मेदवारलाई भोट नदिने निर्णय बहुमतबाट पारित गरिएको जानकारी गराइन्छ ।’यस बिषयमा जिल्लाका कुनै पनि नेतासँग वार्ता नहुने समेत बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
डडेल्धुरामा प्रतिनिधि सभा तर्फ प्रधानमन्त्री स्वयं उम्मेदवार छन् भने प्रदेश सभा २ मा काङ्ग्रेसकै गोविन्द बोहरा र १ मा गठबन्धनबाट माओवादी केन्द्रका प्रदेश इन्चार्ज खगराज भट्ट उम्मेदवार छन् ।