नेपाली काँग्रेसका नेता सुनिल भण्डारीले आफू पार्टीबाट अलग नहुने जनाएका छन् । आज धनगढीमा पत्रकार सम्मेलन गर्दै पार्टीले टिकट नदिए पनि पार्टीबाट अलग नहुने बताएका हुन् ।
अघिल्लो पटक कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा उम्मेदवार बनेका भण्डारी अहिले पनि सोही क्षेत्रबाट आकाङ्क्षी थिए । तर, अन्तिम समयमा डोटीबाट निर्वाचन लड्दै आएका कांग्रेस प्रदेश सभापति वीर बहादुर बलायरलाई टिकट दिएपछि उनी रुष्ट थिए ।पार्टीबाटै अलग हुने चर्चा भइरहेका बेला उनले त्यो निर्णय लिन नसकेको बताए ।
गणेशमान जस्तो अलग भएर बस्न नसक्ने अवस्थामा रहेका भन्दै उनले पार्टीमा लाग्ने विचार गरेको बताए । उनले आगामी दिनमा पार्टीका उम्मेदवारहरूलाई जिताउन लाग्ने बताए । उनले अघिल्लो पटक बाम गठबन्धन हुँदा आफूले पार्टीको साख बचाएको भन्दै अहिले पार्टीले आफूमाथि अन्याय गरेको समेत प्रस्ट पारे ।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको समकक्षी रहेका भण्डारीले आफूमाथि पटक पटक अपमानित भएको बताए ।अघिल्लो कैलाली ४ मा लेखराज भट्टसँग भण्डारी १० हजार ३९९ मतले पराजित भएका थिए ।