दार्चुलामा नेता तथा कार्यकर्ताबीच कुटाकुटः एक जना गम्भीर घाइते
2022/11/14, 6:06
 
ss

दार्चुलामा फेरि सत्तारुढ गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच कुटाकुट भएको छ । दार्चुलाको नौगाड गाउँपालिकामा आइतबार दिउँसो गठबन्धन र एमालेका कार्यकर्ताबीच लफडा भएको जनाइएको छ।

दुबैपक्षका कार्यकर्ताहरु बीचको झडपमा परि गठबन्धनका एक कार्यकर्ता घाइते भएका छन्। माओवादी केन्द्रका नेता तारादत्त भट्टले एमालेका कार्यकर्ताको कुटपिटबाट नौगाड गाउँपालिकाका जयभान धामी गम्भीर घाइते भएको बताए। धामीमाथि एमालेका कार्यकर्ताबाट सामूहिक आक्रमण भएको उनले बताए। धामीको टाउकोमा रडले प्रहार गरिएको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाले आक्रमणमा परेका धामी बेहोस रहेको र जिल्लामा उपचार हुन सम्भव नभएपछि धनगढी ल्याउन लागिएको जनाएको छ। आक्रमणमा परेका धामी नेकपा माओवादी केन्द्र दार्चुला(काठमाडौं सम्पर्क समन्वय समितिका अध्यक्ष समेत हुन्। यता एमाले दार्चुलाले भने गठबन्धनका कार्यकर्ताले नै विवाद झिकेर झडप भएको बताएका छन्। यसअघि पनि दार्चुलामा गठबन्धन र एमालेका कार्यकर्ताहरु बीच झडप हुँदा ४ जना घाईते भएका थिए ।