भारतबाट भित्र्याइयो २ सय ४२ नेपाली
2020/05/12, 3:43
 
GADDA CHAUKI

कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट भारतमा ४५ दिन क्वारेन्टाइन बसेका २ सय ४२ नेपालीलाई स्वदेश ल्याइएको छ।  आइतबार र सोमबार राति गरी सीमावर्ती भारतीय बजार वनवासाको स्कुलमा क्वारेन्टाइन बसेका २ सय ५१ जनामध्ये पहिलो दिन ७५ र सोमबार राति १ सय ६७ जनालाई भारतीय पक्षसित समन्वय गरी स्वदेश फिर्ता ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र पौडेलले वनवासामा ४५ दिन क्वारेन्टाइनमा बसेका नागरिकलाई समन्वय गरी ल्याइएको जानकारी दिए। उनीहरूलाई भीमदत्तनगरस्थित वैजनाथ माध्यमिक विद्यालयमा राखेर आरडिटीका लागि नमुना संकलन भइरहेको उनले जानकारी दिए।  

‘परीक्षणमा कोरोना नदेखिए पनि सम्बन्धित पालिकामा कम्तीमा आठ दिन क्वारेन्टाइन बस्ने गरी पठाउने काम हुँदै छ, उनले भने, ‘यहाँ आरडिटी र पिसिआरका लागि नमुना संकलन भइरहेको छ।’ उनले आइतबार आएकामध्ये धेरैलाई सम्बन्धित पालिकाको क्वारेन्टाइन पठाइसकिएको बताए।  

‘भारतमा एक राज्यबाट अर्को राज्य जान खुकुलो बनाएपछि नेपाली सीमामा आउने क्रम बढ्यो, ‘उनले भने, ‘हामीले सतर्कताका साथ काम गरिरहेका छौँ।’  भारतीय पक्षले क्वारेन्टाइनबाट घर जान अनुमति दिएका नागरिकले प्रहरीले सीमाक्षेत्रबाट उद्धार गरी यहाँको क्वारेन्टाइनमा कोरोना जाँचका लागि राख्ने गरेको छ।  

कोभिड-१९ कञ्चनपुरका सम्पर्क व्यक्ति सिद्धराज भट्ट आइतबार राति ल्याइएका ७५ जनाकै रिपोर्ट नेभेटिभ आएको जानकारी दिए। ‘हिजो राति आएकाहरूको अब परीक्षणका लागि नमुना संकलनको तयारी हुँदै छ,’ उनले भने, ‘नेगेटिभ देखिएकालाई सम्बन्धित पालिका पठाउने काम पनि हुँदै छ।’  रासस