बाजुरा तेस्रो दिन पनि ठप्प बनेको छ। अनेरास्ववियु केन्द्रीय सदस्य चेतन अयडीको हत्याको विषयलाई लिएर अनेरास्ववियु बाजुराले तेस्रो दिन पनि बन्द जारी राखेको हो। जिल्ला सदरमुकाम मार्तडी, कोल्टी, फालसैन लगायतका बजार बन्द रहेको छ । प्रहरीका उनुसार जिल्लामा यातायात, शैक्षिक सस्था, सरकारी कार्यालयहरु पनि ठप्प छन्।
अनेरास्ववियु बाजुराले जिल्ला सदरमुकाम मार्तडीमा टायर बालेर विरोध प्रदर्शन गर्दैछन्। सोमबारदेखि जिल्ला सदरमुकाम बन्द छ। अनेरास्ववियुका नेता अयडीको हत्यारामा संलग्न भएकाहरुलाई कानुनी दायरामा ल्याउन उनीहरुले माग गरेका छन्।
जिल्लाका सरकारी तथा गैरसरकारी संस्था, उद्योग कलकारखाना, शैक्षिक सस्था र व्यापार, व्यावसाय पूर्ण रुपमा बन्द गरिएको हो। अनेरास्ववियु बाजुराले हत्यामा संलग्नलाई पक्राउ नगरुन्जेल आन्दोलनका चरणहरु निरन्तर जारी रहने बताएको छ।
ऐडीको हत्यामा सलग्न रहेकोमा आरोपमा २२ जना विरुद्ध किटानी जाहेरी दर्ता गरिएको छ। यता जिल्ला प्रशासन कार्यालयले भने अहिले स्थिति सामान्य रहेको बताएको छ। बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रबहादुर विष्टले बजार, सार्वजनिक संघसंस्था र विद्यालय सञ्चालनमै रहेको दाबी गरेका छन्।
जिल्लाको त्रिवेणी नगरपालिका ७ को नाटेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा भएको विवादमा २ जनाको मृत्यु भएको थियो। आइतबार मतदान केन्द्रमा तनाव भएपछि सुरक्षाकर्मीले चलाएको गोली लागेर त्रिवेणी–७ का सञ्जीव अयडी र चेतन अयडीको मृत्यु भएको थियो।