सुदूरपश्चिम प्रदेशमा प्रतिनिधि सभा र प्रदेश सभातर्फको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। जसमा अहिलेसम्म सत्तारुढ गठबन्धनका उम्मेदवारहरुले धेरै स्थानमा जति हात पारेका छन्।
प्रदेश सभा तर्फ नेकपा माओवादी केन्द्रका चार जना उम्मेदवार निर्वाचित भएका छन् भने नेकपा एमाले र कांग्रेसका एकरएक जना उम्मेदवार निर्वाचित भएका छन्। कञ्चनपुरको प्रतिनिधि सभा क्षेत्र–२ को प्रदेश सभा १ मा गठबन्धनबाट माओवादीका उम्मेदवार ओमविक्रम भाट निर्वाचित भएका छन्।
भाटले एमाले उम्मेदवार वचनबहादुर सिंहलाई चार सय ७५ मतले पछि पार्दै जित निकालेका हुन्। भाटले १० हजार ९२५ मत ल्याउँदा उनका प्रतिस्पर्धी सिंहले १० हजार ४५० मत पाए।
यस्तै, डोटी प्रदेश सभा २ मा नेकपा माओवादी केन्द्र विजयी भएको छ। सत्ता गठबन्धनबाट उम्मेदवार बनेका शिवसिंह ओली निर्वाचित भएका हन्। बुधबार सार्वजनिक अन्तिम मत परिणाममा ओलीले १४ हजार ४७ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार टेकबहादुर बमले १३ हजार एक सय २८ मत प्राप्त गरे।
दार्चुला प्रदेश निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार मानबहादुर धामी निर्वाचित भएका छन् भने दार्चुला प्रदेश १ मा विक्रमसिंह धामी निर्वाचित भएका छन्। कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ प्रदेश २ मा नेपाली कांग्रेसका बहादुरसिंह थापा निर्वाचित भएका छन्।
डोटी प्रदेश सभा १ मा नेकपा एमालेका चक्रबहादुर मल्ल निर्वाचित भएका छन्। उनी १५ हजार दुई सय ७९ मत प्राप्त गर्दै प्रदेशमा निर्वाचित भएका हुन्।