मंसिर ४ गते सम्पन्न भएको निर्वाचनबाट निर्वाचित भएका बैतडीका जनप्रतिनिधिहरु मतदाताहरुलाई धन्यवाद दिनका लागि गाउँगाउँ पुग्न थालेका छन् ।
एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले प्रत्येक पालिकामा धन्यवाद सभाको आयोजना गर्ने कार्यक्रम राखेको र सोही अनुसार सबै पालिकामा कार्यक्रम भइरहेको एमाले बैतडीका सचिव चक्रबहादुर कार्कीले बताए । सबै पालिकामा पुगेर मतदाताहरुलाई धन्यवाद दिने र उनीहरुका समस्या सुन्ने गरेको उनले बताए ।
प्रतिनिधि सभा सदस्य दामोदर भण्डारी र प्रदेश सभा सदस्य सुरेन्द्र पालको उपस्थितीमा धन्यवाद सभाको आयोजना गर्ने गरिएको कार्कीले बताए । प्रतिनिधि सभामा माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवरलाई पराजित गर्दै भण्डारी निर्वाचित भएका हुन् भने प्रदेश सभा १ मा स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीलाई पराजित गर्दै पाल विजयी भएका हुन् ।
यस्तै नेपाली कांग्रेसबाट प्रदेश सभा –२ मा निर्वाचित प्रदेश सभा सदस्य शिवराज भट्टको उपस्थितीमा मतदाताहरुलाई धन्यवाद दिने कार्यक्रम भइरहेको नेपाली कांग्रेसका क्षेत्रीय सचिव धनबहादुर क्षेत्रीले बताए । आइतबार पञ्चेश्वरबाट मतदाताहरुलाई धन्यवाद दिने कार्यक्रम शुरु भएको र क्षेत्र नं। २ का सबै पालिकामा कार्यक्रमको आयोजना गर्ने तयारी भएको उनले बताए ।