बिहीबार बिहान साइकल चढेर विद्यालय जाँदै गरेकी बालिकाको ग्रेडरको ठक्करले मृत्यु भएपछि धनगढी दिनभर तनावग्रस्त बनेको छ ।सडकको सतह मिलाइरहेको कालिका कन्सट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरले धनगढी उपमहानगरपालिका–५ हसनपुरमा साइकलमा स्कुल गइरहेकी चेतना साउदलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।
प्रत्यक्षदर्शीले ग्रेडरको ठक्करबाट समान्य घाइते भएकी चेतनालाई चालकले ब्याक गरेर मारेको बताएपछि आक्रोशित स्थानीय र विद्यार्थीले धनगढीमा दिनभर प्रदर्शन गरे । प्रहरीले नियन्त्रणमा लिएका चालक भरतपुर महानगरपालिका- २८ का २७ वर्षीय बिमल कुमाल र निर्माण व्यवसायीलाई कारवाही तथा पीडितलाई क्षतिपूर्तिको माग गर्दै प्रदशनमा उत्रिएका विद्यार्थीहरुले धनगढीका सडकमा टायर बालेर प्रर्दशन गरे ।
उनीहरुले धनगढीको पार्क मोड, जिल्ला प्रहरी कार्यालयको मूल गेट अगाडि लगायतका ठाउँमा प्रहरीविरुद्ध समेत नाराबाजी गरे । दोषीलाई कानुनी कारवाही र पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था नभएसम्म शव उठाउन नदिने अडान लिएपछि अवस्था झन् तनावग्रस्त बनेको छ । विद्यार्थी र स्थानीयको अवरोधका कारण शव उठाउन नसकिएको स्थानीय प्रशासनले जनाएको छ । बैतडीको डिलासैनी गाउँपालिका–६ स्थायी ठेगाना भएर धनगढी–५ मा मामाघरमा बसेर अध्ययन गर्दै आएकी साउदका आफन्त घटनापछि धनगढीतर्फ आएका छन् ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बैतडीबाट आइरहेका मृतकका अभिभावक साँझसम्म धनगढी आइपुगेको जानकारी प्राप्त भएको बताए । ‘हामी पीडित परिवारको निरन्तर सम्पर्कमा छौं । उहाँहरु आइरहनुभएको छ,’ जोशीले भने, ‘आक्रोशित स्थानीयको आन्दोलन र पीडितको आग्रह अनुसार घटनास्थलबाट शव उठाइएको छैन । उहाँहरु पुगेपछि प्रक्रिया थाल्छौँ ।’
जिल्ला प्रहरी कार्यालय कैलालीले घटनाको विरोधमा प्रदर्शनमा उत्रिएका तीन जनालाई नियन्त्रणमा लिएको छ । डीएसपी जोशीले प्रदर्शनमा उत्रिएका तीन जनालाई नियन्त्रणमा लिएको पुष्टि गर्दै उनीहरु विद्यार्थी भएको नखुलेको बताए । उनका अनुसार बिहीबार साँझ जिल्ला सुरक्षा समितिको बैठक बसेको छ । मृतक बालिका धनगढीस्थित पञ्चोदय माध्यमिक विद्यालयमा ८ कक्षामा अध्ययनरत थिइन् ।