सुदूरपश्चिमका ‘कर्णधार’मा कोरोना
2020/06/28, 10:31
 
korona

‘राष्ट्रिय युवा नीति–२०६६’ले १६ देखि ४० बर्षसम्मको उमेर समुहलाई ‘युवा’ भनि परिभाषित गरेको छ । नीतिमा ‘युवा’ भन्नाले ‘१६–४० वर्षको उमेर समूहका महिला, पुरूष तथा तेस्रो लिङ्गीहरूलाई जनाउँछ’ भनी उल्लेख गरिएको छ । यहि उमेर समुहलाई ‘सक्रिय उमेर समुह’ पनि मानिन्छ । यो उमेर समुहसंग कार्यक्षमता उच्च रहन्छ । जसले समुदाय र देशको अर्थतन्त्र उकास्न ठुलो मद्दत पुर्याउँछ । यसै कारण युवालाई देशको ‘कर्णधार’ भनेर उपमा पनि दिईने प्रचलन पाईन्छ ।

यतिबेला सुदूरपश्चिमका यिनै कर्णधारहरु कोरोना भाईरस कोभिड १९ को संक्रमणको चपेटामा परेका छन् । शनिवारसम्मको संक्रमितहरुको तथ्याङ्क अनुसार करिब ७६ प्रतिशत युवा उमेर समुहका व्यक्तीहरुमा संक्रमण छ । तथ्याङ्क अनुसार सुदूरपश्चिम प्रदेशमा शनिवारसम्म दुई हजार एकसय १४ जनामा संक्रमण पुष्टि भएको छ । यद्यपी सुदुरपश्चिम स्वास्थ्य निर्देशनालयसंग दुई हजार ७६ जनाको मात्रै तथ्याङ्क छ । ३८ जना संक्रमितको निर्देशनालयले तथ्याङ्क राखेको छैन् । उनीहरु जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौं तथा कर्णाली प्रदेश र ५ नम्बर प्रदेशमा गरिएको परीक्षणमा पुष्टि भएका हुन् । 

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार कुल संक्रमितमध्ये युवा (१६–४०उमेरसमुह) को संख्या एक हजार छ सय चार छ । जसमा २० देखि २९ वर्ष उमेर समुहका व्यक्तीहरु बढी संक्रमित छन् । जसको संख्या नौ सय ४६ छ । त्यसपछि ३० देखि ३९ वर्ष समुहमा चार सय ६२ जनामा संक्रमण पाईएको छ भने १६ देखि १९ बर्षका एक सय ९६ जनामा संक्रमण पाईएको छ ।

निर्देशनालयका अनुसार अन्य उमेर समुहमा नौ वर्षमूनिका एक सय ३७ जना, १० वर्षदेखि १५ बर्ष उमेर समुहका ५६ जना, ४० देखि ४९ बर्ष उमेर समुहका एक सय ७१ जना, ५० देखि ५९ बर्ष उमेर समुहका ७८ जना, ६० देखि ६९ बर्ष उमेर समुहका २३ जना र ७० देखि ७९ बर्ष उमेर समुहका सात जनामा संक्रमित देखिएको छ । प्रदेशमा सवैभन्दा कम उमेरको जन्मेको चार दिनको शिशुलाई र सवैभन्दा वढी ७६ बर्षको वृद्धलाई कोभिड–१९ को संक्रमण देखिएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले बताए ।

आयातित अवस्थाले युवा धेरै
जानकारहरुका अनुसार हाल आयातित संक्रमणको समय चलिरहेको छ । त्यसैले युवाको संख्या धेरै देखिएको हो । ‘आर्थिक कमजोरीको बाध्यता र लहलहैमा लागेर यहाँका युवा किशोर अवस्थामै पढाई छाडेर भारत भाँसिन्छन,’ शिक्षाविद् डा.हेमराज पन्त भन्छन्,‘तीनै अहिले फर्किएका छन् । उनीहरुमै संक्रमण छ । त्यसैले युवाकै संख्या बढी देखिएको हो ।’

अहिलेको संक्रमणको स्रोत भारत रहेको र भित्रिएको धेरै समय नभएकाले युवाहरुमै बढी संक्रमण केन्द्रीत रहेको सेती प्रादेशिक अस्पताल धनगढीका जनरल फिजिसियल डाक्टर निराजन दत्त शर्मा बताउँछन् । ‘अहिलेको संक्रमण क्वारेन्टिनभित्रै सीमित छ । जहाँ भारतबाटै संक्रमण ल्याएकाहरुमा संक्रमण देखिएको छ,’ उनी भन्छन्,‘थप भनेको बाटोमा वा क्वारेन्टीनमा संगै रहँदा संक्रमण भएको हो । त्यसैले अहिले युवाको संख्या बढी देखिन्छ ।’

भारतबाट युवाहरु आउँदा असावधानी, चेतना अभाव लगायतका कारणले उनीहरुमा संक्रमण बढेको सेती प्रादेशिक अस्पतालको कोरोना विभाग प्रमुख डाक्टर शेरवहादुर कमरले बताए । उनले भने, ‘भारतबाट आउँदा असावधानी अपनाएको वा चेतनाको अभावले पनि संक्रमण बढीमा भएको हुन सक्छ ।’ भारतबाट सँगै आउँदा घुलमिल हुँदै आएको, एउटै गाडी प्रयोग गरेको र एउटै क्वारेन्टीनमा वसेकाहरु पाईएकोले पनि वढी संक्रमण फैलिएको उनको भनाई छ ।

संक्रमण प्रभावहीन
विश्वव्यापी तथ्याङ्क हेर्दा कोभिड–१९ को कुल संक्रमणमध्ये झण्डै पाँच प्रतिशतभन्दा बढीको मृत्यु भएको छ । अत्याधिक संख्यामा संक्रमितहरु गम्भीर अवस्थामा पुगेका देखिन्छन् । तर, नेपालमा, मूलतः सुदूरपश्चिम अवस्था ठ्याक्कै विपरित छ । प्रदेशमा कुल संक्रमितको संख्या दुई हजार एक सय नाघ्दा मात्र ६ जनाको मृत्यु भएको छ । अन्य लगभग सबै जसोमा कुनै किसिमको पनि गम्भीर असर देखिएको छैन् । ‘युवाको भन्दा बालबालिका र वृद्धवृद्धाहरुमा संक्रमण व्यापक फैलिए अवस्था गम्भीर बन्न सक्छ ।’
हालसम्म युवाहरुमै संक्रमण रहेकाले यस्तो अवस्था देखिएको चिकित्सकहरु बताउँछन् ।

‘युवाको रोग प्रतिरोधात्मक क्षमता बढी हुन्छ । त्यसै कारण पनि अहिल्यै धेरै जोखिम नदेखिएको हुन सक्छ,’ सेती प्रादेशिक अस्पताल धनगढीका कोरोना विभाग प्रमुख डाक्टर कमर भन्छन्, ‘युवाको भन्दा बालबालिका र वृद्ध वृद्धाहरुमा संक्रमण व्यापक फैलिए अवस्था गम्भीर बन्नसक्छ ।’ यसका लागि समुदायस्तरमा संक्रमण फैलन नदिन सबै सचेत हुनुपर्ने जनरल फिजिसियल डाक्टर शर्माले बताए । उनले भने, ‘समुदायमा बृद्ध पनि छन्, बालबालिका पनि छन् । दीर्घरोगी पनि छन्, कमजोर मानिस पनि छन्,’ उनले भने, ‘त्यसैले समुदायमा संक्रमण पुग्न नदिन सबै सचेत हुुनुपर्छ । यसमा स्वयम संक्रमित र राज्य चनाखो र जिम्मेवार हुनुपर्छ ।’ सरकारले यसका लागि तत्कालै विशेष तयारी र सावधानी अपनाउनुपर्ने उनले बताए ।