सुदूरपश्चिम महोत्सव उद्घाटन गर्दै देउवाले भने- पश्चिम सेती र पञ्चेश्वर चाँडै बन्छ
2022/12/08, 6:22
 
dd

प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम पुगेर पश्चिम सेती र पञ्चेश्वर परियोजना बन्ने शुनिश्चितमा रहेको बताएका छन् । कैलाली उधोग बाणिज्य संघद्वारा आयोजित सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्दै देउवाले पश्चिम सेती र पञ्चेश्वर लगायत सुदूरपश्चिमका ठूला राष्ट्रिय गौरवका आयोजनालाई सरकारले प्राथमिकतामा राखेको बताएका हुन् । देउवाले यहाँको कृषी तथा पर्यटकिय क्षेत्रको बिकास गर्न सके सुदूरपश्चिमको बिकासमा फड्को मार्ने बताएका हुन् ।

प्रधानमन्त्री शेर बहादुर देउवाले बिहिबार सुदूरपश्चिम महोत्सवको उद्घाटन गरे । कैलाली उधोग बाणिज्य संघले आयोजना गरेको सुदूरपश्चिम महोत्सव उद्घाटन गर्दै देउवाले यहाँका ठूला राष्ट्रिय गौरवका आयोजनालाई सरकारले प्राथमिकतामा राखेको बताएका छन । उनले पञ्चेश्वर आयोजनाका लागि भारतका प्रधानमन्त्रीले चासो दिएको र पश्चिम सेतीको पनि भारतीय कम्पनीले लाइसेन्स लिइसकेको बताए । पश्चिम सेतीमा भारतीय कम्पनीले लाइसेन्स लिइसकेको बताउँदै देउवाले अब अवश्य पुरा हुँदै पञ्चेश्वर र पश्चिम सेती बनेमा सुदूरपश्चिमको समग्र विकासमा टेवा पुग्ने बिश्वास ब्यक्त गरे ।

उनले यस क्षेत्रको विकासका लागि रानी जमरा सिचाई आयोजना, चमेलिया जलविद्युत आयोजना, दोधरा–चादनी सुख्खा बन्दरगाहा निर्माणको कामलाई पनि सरकारले प्राथमिकता दिएको बताए । उनले सुदूरपश्चिमको मुख्य व्यपारिक क्षेत्र धनगढीमा भएको महोत्सवले यस क्षेत्रमा उत्पादन भएका वस्तुको वजारीकरणमा मदत पुग्ने बताए । उनले सुदूरपश्चिम पर्यटकीयसम्भावना बोकेको क्षेत्र पनि भएको बताए ।

महोत्सव उद्घाटनको अवशरमा प्रधानमन्त्री देउवालाई कैलाली उधोग बाणिज्य संघका अध्यक्ष पुस्पराज कुवँरले १५ बुँदे मागसहित १५ किलोको माला लगाइएका छन् । २१ बुँदाबाट शुरु गरिएको महोत्सव केही माग पुरा भईसकेकाले मालाको तौल घटाइएको बताइएको छ । प्रदेशको गौरीफण्टा, धनगढी विमानस्थल स्तरोन्नति, औद्योगिक ग्राम स्थापना, मानसरोवर जोड्ने सडक, आईटी हब लगायतका मागहरु रहेका छन् ।

वर्सेनी सुदूरपश्चिम प्रदेशको कृषि, पर्यटन, उद्योग, व्यापार व्यवसाय र कला संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले संघले महोत्सव आयोजना गर्दै आएको छ । यसपालि महोत्सव पुस २ गतेसम्म सञ्चालन हुनेछ । कैलाली उद्योग वाणिज्य सघंले २०६३ सालदेखि महोत्सव सञ्चालन गर्दै आएकोमा अघिल्लो दुई वर्ष कोरोना महामारीका कारण महोत्सव आयोजना हुन सकेको थिएन ।