सुदुरपश्चिम महोत्सव २०७९ को प्रधानमन्त्री शेर बहादुर देउवाले उद्घाटन गरेका छन्। धनगढी उपमहानगरपाली १ पशुपतिटोलमा आजदेखी पुष २ गतेसम्म सञ्चालन हुने सुदुरपश्चिम महोत्सवको एक कार्यक्रमका बिच प्रधानमन्त्री देउवाले उद्घाटन गरेका हुन्।
प्रधानमन्त्री देउवाले पानसमा बत्ति बालेर महोत्सवको उद्घाटन गरेका हुन्।प्रधानमन्त्री देउवा नेपाली सेनाको जहाज लिएर आज धनगढी आएका हुन् ।सुदूरपश्चिम प्रदेश महोत्सवको उद्घाटन गर्न धनगढी पुगेका प्रधानमन्त्री शेर बहादुर देउवालाई २१ बुँदे मागबाट शुरु भएको महोत्सवमा यस वर्ष प्रमुख अतिथिलाई १५ किलोको माला लगाइएको छ। २१ बुँदाबाट केही माग पुरा भईसकेकाले मालाको तौल घटाइएको छ । जसमा प्रदेशको गौरिफण्टा, धनगढी विमानस्थल स्तरोन्नति, औद्योगिक ग्राम स्थापना, गौरिफण्टादेखि मानसरोवर जोड्ने सडक, प्रर्दशनीस्थलको व्यवस्था, आईटी हब लगायतका माग छन। २०६३ सालदेखि निरन्तर सञ्चालन हुँदै आएको महोत्सबको यो १६ औं संस्करण हो। आयोजक कैलाली उद्योग बाणिज्य सँघले महोत्सवको पुर्व सन्ध्यामा आज बिहान धनगढी चौराह देखी महोत्सवस्थलसम्म बाजागाजा सहित प्रभात फेरीको आयोजना गरेको थियो। संघका अध्यक्ष पुष्पराज कुँवरले समृद्ध सुदूरपश्चिम प्रदेश बनाउने अभियान अन्तर्गत महोत्सब प्रमुख पर्वका रुपमा स्थापित भइसकेको बताए। उनले महोत्सवलाई बनाउन सबैको सहयोगका लागि आग्रह गरे । संघका अनुसार यस पटक महोत्सवमा चार सय बढि स्टलहरू रहने छन्।
महोत्सवमा कृषि उपजका ११, होटलका २६, अटोमोवाइलका ११ तथा बैंक र वित्तीय संस्था, घरेलु उद्यम एवं व्यापारिक गरी चार सय बढि स्टल रहने छन्। यस्तै महोत्सव सुरुवात देखि नै संघले धनगढी अन्तर्राष्ट्रिय स्तरको क्षेत्रीय विमानस्थल, गेटा मेडिकल कलेज, पश्चिम सेती जलविद्युत आयोजना, औद्योगिक करिडोर, विशेष आर्थिक क्षेत्र, गौरिफन्टा सीमानाको स्तरोन्नती, धनगढी–दीपायल–बझाङ द्रुतमार्ग, सुख्खा बन्दरगाह, प्राविधिक कलेज, प्रदर्शनीस्थल, सितगृह, लगायतका प्रमुख माग प्रस्तुत गर्दै आएको छ। महोत्सव सुदूरपश्चिमको आर्थिक विकासको लागि सम्भावनाहरूको खोजी गर्दै यस क्षेत्रको पर्यटन विकास, कलासंस्कृति, खानपान, भाषाको संरक्षणसहित व्यवसायिक रुपमा सफलता प्राप्त गरि जनताको गुणस्तरीय जीवनमा सहयोगी सावित हुने विश्वास लिएको छ।