२ पार्टी फेरेर पुनः एमालेमै फर्किइन् सुदूरपश्चिम प्रदेशसभाकी पूर्वसांसद विक
2022/12/22, 5:56
 
ss

सुदूरपश्चिम प्रदेशसभाकी पूर्वसदस्य दुर्गा विक दम्पती नेकपा एमाले प्रवेश गरेको छ । नेकपा माओवादी केन्द्रबाट प्रदेशसभाकी पूर्व सदस्य रहेकी विक र उनका पति एकै दिन एमाले प्रवेश गरेका हुन् । माओवादी अछामका नेतासमेत रहेका उनका श्रीमान् रामबहादुर विक अब एमालेका नेता बनेका छन् । उनीहरूलाई एमाले महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरेका छन ।

२०७४ मा नेकपा एमालेबाट समानुपातिक सांसद बनेकी विक नेकपा विभाजनका वेला प्रदेशसभाकी प्रमुख सचेतक समेत बनेकी थिइन् । त्यसपछि एमाले विभाजनका वेला उनी एकीकृत समाजवादीतिर लागिन् । त्यहाँ उनले एकीकृत समाजवादीको प्रमुख सचेतक भएर काम गरिन् । त्यसपछि उनी संसदीय चुनावअघि नेकपा माओवादी केन्द्रतर्फ मोडिएकी थिइन् ।

भदौ ३१ मा उनी खुमलटार पुगेर माओवादी प्रवेश गरेकी थिइन् । उनलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरेका थिए । उनका श्रीमान् रामबहादुर गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा माओवादीबाट अछामको पञ्चदेवल नगरपालिकाको मेयरका उम्मेदवार थिए । विक कांग्रेसकी अम्बिका चलाउनेसँग पराजित भएका थिए ।