नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता खगराज भट्ट सर्वसम्मत चयन भएका छन् । आइतबार बिहान प्रदेश संसदीय दलको कार्यालयमा बसेको बैठकले पार्टीका स्थायी कमिटि सदस्य तथा प्रदेश इन्चार्ज भट्टलाई सर्वसम्मत चयन गरेको हो ।
पुस्तान्तरणको माग गर्दै दलको नेतामा दाबी गरेका केन्द्रीय सदस्य समेत रहेका ओमबिक्रम भाटले अन्तिम समयमा भने भट्टलाई समर्थन गरेका हुन् । प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामीले भट्ट सर्वसम्मत रुपमा दलको नेतामा चयन भएको जानकारी दिए ।
‘आज बिहान बसेको संसदीय दलको बैठकले दलको नेतामा कमरेड खगराज भट्टलाई सर्वसम्मत रुपले चयन गरेको छ । अर्का दाबेदार कमरेड ओमबिक्रम भाट पनि समर्थन गर्नुभएको छ,’ धामीले भने । माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश पदाधिकारीको बैठकले पनि दलको नेतामा भट्टलाई नै सर्वसम्मत चयन गर्न उपयुक्त हुने सुझाव दिएको थियो ।
शनिबार बसेको दलको बैठक बसेपनि दुवै नेताले दाबी नछाड्दा सहमती हुन सकेको थिएन । दलको नेतामा चयन भएका भट्ट डेडेल्धुराको प्रदेशसभा९क० बाट निर्वाचित भएका थिए । नेपाली कांग्रेसको नेतृत्वमा रहेको तत्कालीन सत्तारुढ गठबन्धनका साझा उम्मेदवार बनेका उनलाई भावी मुख्यमन्त्रीका रुपमा अघि सारिएको थियो ।
मुख्यमन्त्री बनाउने समझदारीअनुसार नै आफू प्रदेशसभाको चुनाव लडेको बताउने गरेका भट्ट दलको नेता चयन भएसँगै उक्त बाटो पनि खुलेको छ । एमाले नेतृत्वमा बनेको नयाँ गठबन्धनमा पनि सुदूरपश्चिम माओवादीको भागमा पर्ने सम्भावना छ । माओवादीको भागमा परेको अवस्थामा भट्ट नै मुख्यमन्त्री बन्नेछन् ।