खगराजलाई बधाई दिदै सरलले भने– एकताबद्ध भएर पहल कदमी लिन सकिन्छ भन्ने सहमत छौँ
2023/01/01, 1:13
 
dd

नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलमा खगराज भट्टलाई चुनौती दिएका ओमबिक्रम भाट ‘सरल’ ले एकताबद्ध भएर पहलकदमी लिन सकिछ भन्ने कुरामा सहमत भएको उल्लेख गरेका छन् । संसदीय दलको नेतामा भट्ट सर्वसम्मत चयन भएपछि उनलाई अंगालो हालेको फोटो सामाजिक सञ्जालमा सार्वजनिक गर्दै भाटले यस्तो उल्लेख गरेका हुन् ।

‘अहिलेको वर्तमान राजनीतिक अवस्थामा एकताबद्ध हुंदा मात्र पहलकदमी लिनसक्ने निष्कर्षका साथ हामी दुई दल नेताका आकांक्षी प्रदेश ईञ्चार्ज तथा स्थायी समिति सदस्य कमरेड खगराज भट्ट र मेरा बिचमा अहिलेको अवस्थामा मिलेर र एकताबद्ध भएर मात्र पहलकदमी लिन सकिन्छ भन्नेमा सहमत भएका छौं,’ भाटले लेखेका छन्, ‘आगामी दिनमा पनि सहमति सहकार्य र एकताबद्ध भएर अगाडि बढ्नेमा दृढता पुर्वक संकल्प गरेका छौं । यही सहमतिका साथ पार्टी इञ्चार्ज तथा स्थायी समिति सदस्य कमरेड खगराज भट्टलाई दलको नेतामा सर्वसम्मत निर्वाचित भएको जानकारी गराउँदछौं ।’

उनले केन्द्रमा आफ्नोे पार्टीको नेतृत्व भएको वर्तमान अवस्थामा केन्द्र सरकारलाई सफल बनाउन पनि सहमती, सहकार्य र एकताबद्ध भएर अगाडि बढ्दा नै पहलकदमी लिन सकिने बताएका छन् । उनले दल नेतामा चयन भएका भट्टलाई बधाई पनि दिएका छन् । आइतबार बिहान प्रदेश संसदीय दलको कार्यालयमा बसेको बैठकले पार्टीका स्थायी कमिटि सदस्य तथा प्रदेश इन्चार्ज भट्टलाई सर्वसम्मत चयन गरेको थियो ।

पुस्तान्तरणको माग गर्दै दलको नेतामा दाबी गरेका केन्द्रीय सदस्य समेत रहेका ओमबिक्रम भाटले अन्तिम समयमा भने भट्टलाई समर्थन गरेका हुन् । यसअघि शनिबार बसेको दलको बैठक बसेपनि दुवै नेताले दाबी नछाड्दा सहमती हुन सकेको थिएन । दलको नेतामा चयन भएका भट्ट डेडेल्धुराको प्रदेशसभा९क० बाट निर्वाचित भएका थिए । नेपाली कांग्रेसको नेतृत्वमा रहेको तत्कालीन सत्तारुढ गठबन्धनका साझा उम्मेदवार बनेका उनलाई भावी मुख्यमन्त्रीका रुपमा अघि सारिएको थियो ।