सुदूरपश्चिम प्रदेश सभाका सभामुखको निर्वाचन माघ २ गते हुने भएको छ । प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुखको निर्वाचन गर्नुपर्ने कानुनी प्राबधान छ । पुस १८ गते अर्थात सोमबार प्रदेश सभाको पहिलो बैठक बोलाइएको छ । यस हिसाबले माघ २ भित्र सभामुखको निर्वाचन गरिसक्नुपर्ने हुन्छ । त्यही अनुसार माघ २ गते सभामुखको निर्वाचन गर्ने मिति तोकिएको प्रदेश सभा सचिवालयका सचिव देववहादुर बोगटीले बताए ।
दलहरूले भने सभामुखमा कसलाई उम्मेदवार बनाउने भनेर टुङ्गो लगाएका छैनन् । नेकपा एमालेका संसदीय दलका नेता राजेन्द्रसिंह रावलले सभामुखको उम्मेदवार को बन्ने भनेर पार्टीले टुङ्गो नलगाएको बताए । सुदूरपश्चिम प्रदेश सरकार कसको नेतृत्वमा बन्ने भन्ने विषयको पनि टुङ्गो लाग्न सकेको छैन । प्रदेश सभामा नेपाली काँग्रेसले संसदीय दलको नेता चयन गरेको छैन भने नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले दलको नेता चयन गरेका छन ।
सभामुखको उम्मेदवारीबारे भने छलफलसम्म नभएको प्रदेश सभा सदस्यहरूले बताएका छन । प्रदेश सभाको पहिलो बैठक भने भोलि (सोमवार) बस्ने सर्वदलीय बैठकबाट निर्णय भएको प्रदेश सभा सचिवालयका सचिव देववहादुर बोगटीले बताए ।