कैलालीको गौरीगङ्गा नगरपालिका–१० माडल्लपमा जङ्गल सफारी गर्न पाईने भएको छ । पुस २५ देखि २९ गते सम नुक्लीपुर आयोजना हुने महोत्सव तथा होमस्टे उद्घाटन कार्यक्रममा डल्लपमा जंगल सफारी गर्न पाईने भएको हो ।
नुक्लीपुर सामुदायिक होमस्टे व्यवस्थापन समितिले पत्रकार सम्मेलनको आयोजना गरी नुक्लीपुर महोत्सव तथा होमस्टे उद्घाटन कार्यक्रमबारे जानकारी दिदैं डल्लपमा जंगल सफारीको सुविधा रहेको नुक्लीपुर सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष दिनेश दहितले जानकारी दिए ।
भाषाकला संस्कृति, जैविक विविधता संरक्षण र पर्यापर्यटन प्रवर्द्धन गरौं’ भन्ने मूल नाराका साथ पहिलो पटक होमस्टे गाउँ नुक्लिपुर महोत्सव २०७९ आयोजना हुन लागेको छ । होमस्टेको प्रचारप्रसार, मौलिक हस्ताकलाका प्रवर्द्धनका लागि महोत्सवको आयोजना गरेको नुक्लीपुर सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष दहितले बताए ।
महोत्सवमा डल्लपमा जङ्गल सफारीका साथै रमाइलो मेला, थारु खानपानको सुविधा, हस्ताकला प्रदर्शनी तथा विक्री वितरण, खुला पुरुष फुटबल प्रतियोगिता, थारु कलाकारहरूको प्रस्तुति, थारु गुरुबाहरुको शक्ती प्रदर्शन लगायतका कार्यक्रम हुने अध्यक्ष दहितले जानकारी दिए ।
२०७७ सालमा होमस्टे स्थापना लगत्तै कोरोना महामारी सुरु भएपछि नुक्लीपुर सामुदायिक होमस्टेको विधिवत् उद्घाटन हुन सकेको छैन । त्यही भएर महोत्सवसँगै होमस्टेको उद्घाटनको कार्यक्रम पनि राखिएको छ ।