सुदुरपश्चिम प्रदेश सभा सदस्यहरुले समृद्धि र आर्थिक विकासका एजेण्डाहरुलाई संसदमा उठाउने (भिडियो रिर्पोट)
2023/01/01, 6:54
 
dd

सुदूरपश्चिम प्रदेश सभाको पहिलो बैठक भोली पुस १८ गते बस्दै छ । गत पुस १५ गते शपथ खाएका प्रदेश सभा सदस्यहरु सुदुरपश्चिम प्रदेश सभाको पहिलो बैठकमा सहभागीता जनाउन लागेका हुन् । प्रदेश सभा सदस्यहरुमा निर्वाचित प्रदेश सभा सदस्यहरुले ५ बर्षे कार्यकालमा सुदुरपश्चिमको समृद्धि र आर्थिक विकासका एजेण्डाहरुलाई संसदमा उठाउने प्रतिबद्धता जनाएका छन् । 

सुदुरपश्चिम प्रदेश सभाको दोस्रो कार्यकालका लागि ५३ जना प्रदेश सभा सदस्यहरु निर्वाचित भईसक्नुभएको छ । शपथ समेत खाईसकेका प्रदेश सभा सदस्यहरु मध्ये अधिकाशं नयाँ अनुहार छन् । ५३ सदस्यीय प्रदेशसभामा ४ जना बाहेक सबै नयाँ अनुहार छन् । २०७४ मा निर्वाचित सदस्यहरुमध्ये ४ जना मात्रै दोहोरिएका छन् । नवनिर्वाचित प्रदेश सभा सदस्यहरुले समग्र सुदुरपश्चिमको विकास र समृद्धिका लागि जनजीविकासँग सम्बन्धित मुद्धाहरुको उठान गर्ने प्रदेश सभा सदस्य चक्र मल्लले बताए । 

सुदुरपश्चिम प्रदेश सभामा नयाँ अनुहार र युवाको संख्या यस पटक बढी छ । प्रदेशसभा सदस्यहरुले प्रदेशका जनताको हितका लागि काम गर्ने गर्दै कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने योजना बनाएको प्रदेश सभा सदस्य ओम विक्रम भाटले बताए । छाडा पशु चौपाय लगायतका समस्याहरु समाधान गर्नका लागि योजना अगाडी बढाएको प्रदेश सभा सदस्य डाक्टर तारा जोशीले बताए । 
संघीयताको पहिलो बर्षमा प्रदेश सरकारबाट खासै काम नभएको गुनासो बढिरहेका बेला जनताले आश गर्ने गरी काम गर्ने नवनिर्वाचित प्रदेशसभा सदस्यहरुको प्रतिबद्धता छ । जनताहरु माँझ गरेका बाचा पुरा गर्ने तर्फ केन्द्रित हुने र बिषेशगरी शुसासन कायम गरी जनताका हितमा कानुन निर्माण गर्ने प्रदेशसभा सदस्य प्रकाश देउवाको भनाई छ । 

कैलाली कञ्चनपुर बाहेकका सात पहाडी जिल्लाहरुमा अझै पनि विकासका सबै पुर्वाधारहरु पुग्न सकेको छैन । पहाडी क्षेत्रहरुमा विद्यमान समस्याहरुका साथै जनतासँग जोडिएका विकासका मुद्धाहरु संसदमा उठाउने प्रदेश सभा सदस्य नुना दानीले बताईन् । नव निर्वाचित प्रदेशसभा सदस्यहरुले यो कार्यकालमा केही फरक अनुभुती हुने आशा राखेका छन् ।