सुदूरपश्चिममा दलहरुले कस्लाई बनाउलान् सभामुख, चर्चा सुरु 
2023/01/02, 12:29
 
ss

सुदूरपश्चिम प्रदेश सभा सदस्यमा निर्वाचित उम्मेदवारहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गरीसकेका छन्। पुष १५ गते सुदुरपश्चिम प्रदेश सभा सदस्यमा निर्वाचित ५३ जनाले पद तथा गोपनीयताको सपथ ग्रहण गरीसकेका छन्। प्रदेशसभाका ज्येष्ठ सांसद मानबहादुर रावलले प्रदेश प्रमुख देवराज जोशीबाट शपथ ग्रहण गरेपछि रावलले अन्य ५२ जना सांसदलाई शपथ ग्रहण गराएका हुन्।

नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एमाले, नागरिक उन्मुक्ति, नेकपा एकीकृत समाजवादी, राप्रपा तथा स्वतन्त्र पदमा निर्वाचित प्रदेशसभा सदस्यहरु शपथ ग्रहण गरेका हुन्। शपथ ग्रहणसँगै काँग्रेस बाहेक अन्य पार्टीले दलको नेता चयन गरिसकेका छन्। भने अहिलेसम्म नेपाली काँग्रेसले दलको नेता चयन गरिसकेको छैन। काँग्रेसले दलको नेता चयन गर्न कम्तीमा एक हप्ता लाग्ने बताएको छ । आइतबार ९आज ०ज्येष्ठ सदस्य मानबहादुर रावलको अध्यक्षतामा प्रदेशसभा सचिवालयमा बसेको बैठकले माघ २ गते सभामुख चयन गर्ने निर्णय गरेको छ। तर दलहरूले सभामुखमा कसलाई उम्मेदवार बनाउने भनेर टुङ्गो लगाएका छैनन्।

यस्तै सुदूरपश्चिम प्रदेश सरकार कसको नेतृत्वमा बन्ने भन्ने विषयको पनि टुङ्गो लाग्न सकेको छैन। प्रदेशमा सभामुख चयन गर्ने मिती तोकिएपनी उम्मेवार को हुने भन्ने चर्चा सुरु भएको छ। प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुखको निर्वाचन गर्नुपर्ने कानुनी प्राबधान छ। पुस १८ गते अर्थात सोमबार प्रदेश सभाको पहिलो बैठक बोलाइएको छ। यस हिसाबले माघ २ भित्र सभामुखको निर्वाचन गरिसक्नुपर्ने हुन्छ। तर सभामुख को बन्ने भन्ने बारेमा टुङ्गो लागेको छैन् । यस बिषयमा चर्चा सुरु भएको छ । प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले सोमबार दिउँसो १ बजे बस्ने प्रदेशसभाको पहिलो बैठकमा सभामुख निर्वाचन सम्बन्धी कार्यतालिका प्रस्तुत गर्ने र २ गते निर्वाचन गर्ने सर्वदलीय बैठकले निर्णय गरेको जानकारी दिए ।

उनकाअनुसार सभामुखका लागि एक जनाको उम्मेदवारी परेको बाहेकको अवस्थामा मतदान हुनेछ । सबैभन्दा बढी मत पाउने प्रदेशसभा सदस्य सभामुखमा निर्वाचित हुनेछन् । सर्वदलीय बैठकले प्रदेशसभा सञ्चालन सम्बन्धी नियमावलीमा केही संशोधन गर्ने निर्णय गर्दै ज्येष्ठ सदस्यको अध्यक्षतामा ५ सदस्यीय अध्यक्षता मण्डल चयन समेत गरेको छ । पहिलो बैठकमा प्रदेशसभामा प्रतिनधित्व गर्ने सबै राजनीतिक दलका तर्फबाट संसदीय दलका नेताले शुभकामना मनतव्य राख्ने कार्य सूची समेत बैठकले तय गरेको छ । प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले दलको नेता चयन गरिनसकेका कारण प्रदेशसभा सदस्य बहादुरसिंह थापाले शुभकामना मनतव्य राख्ने प्रदेशसभा सचिवालयले जनाएको छ। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेस १९, नेकपा माओवादी केन्द्र ११, नेकपा एमाले १०, नागरिक उन्मुक्ति पार्टी ७, नेकपा एकीकृत समाजवादी पार्टी४, राप्रपा १ गरेर ६ दलको प्रतिनिधित्व रहेको छ। एक जना स्वतन्त्र प्रदेशसभा सदस्य छन् ।