प्रदेशसभाको पहिलो बैठकमा नेताहरुले भने, बिगतमा बेथिती देखियो अब सबै सच्चिनुपर्छ
2023/01/03, 12:39
 
aa

संघियतापछि दोश्रो कार्यकालको प्रथम सुदूरपश्चिम प्रदेशसभा बैठक आज बसेको छ । गत पुुस १५ गते सपथ ग्रहण गरेका प्रदेशसभा सदस्यहरु आज पहिलो बैठकमा सहभागी भए । ४ जना बाहेक अन्य सबै नयाँ अनुहार रहेका प्रदेशसभा सदस्यहरुले सभामा बोल्ने क्रममा बिगतको गल्ती सच्याउनुपर्ने कुरामा जोड दिएका छन् ।

संघियताको पहिलो बर्षमै सरकार र प्रतिनिधीहरु जनमुखी नभएकै कारण संघियतामाथी प्रश्न उठेको दावी गर्दै नव निर्वाचित प्रदेशसभा सदस्यहरुले अबको कार्यकालमा आफ्ना नभई जनताका मुद्धा समेट्न तर्फ केन्द्रित हुनुपर्नेमा जोड दिएका हुन् ।

सुदूरपश्चिम प्रदेशसभाको दोस्रो कार्यकालको प्रथम अधिवेशन सोमबार बस्यो । प्रदेश प्रमुख देवराज जोशीले नेपालको संविधानको धारा १८३ को उपधारा १० बमोजिम सुदूरपश्चिम प्रदेशको प्रदेशसभाको अधिवेशन १८ गते सोमबारका लागी सुचना गरेसंगै बैठक बसेको हो ।

सुदूरपश्चिम प्रदेशसभाका ५३ सांसदहरुमध्ये ४ जना मात्रै दोहोरिएका थिए । ४९ जना नयाँ संसदहरु नयाँ जोहका साथ प्रदेशसभा बैठकमा सहभागी भए । बिभिन्न दलबाट प्रतिनिधित्व गर्दै प्रदेशसभाको पहिलो बैठकमा बोल्ने सदस्यहरुले बिगतको त्रुटी नदोहोरिने गरी काम गर्नुपर्नेमा जोड दिएका छन् । बिगतको सरकारले जनमुखी काम नगरेकै कारण आज जनताहरुले संघियतामाथीनै प्रश्न उठाउने दिन आएको भन्दै अब सच्चिएर जानुपर्नेमा उनिहरुको जोड थियो ।

नेकपा एमाले सुदूरपश्चिम प्रदेशसभा संसदिय दलका नेता राजेन्द्र सिहं रावलले बिगत ५ बर्षे सरकार प्रती जनताका धेरै प्रश्न उठेको बताए । सरकारका काम देखेर जनताले ब्यवस्थामाथीनै प्रश्न गरे उनले भने “संघियतालाई बलियो बनाउने राजनितिक दलकै जिम्मा हो, हामीले गलत गर्न छुट छैन, बिगतमा गल्ती भएको धेरै सुनियो अबको ५ बर्ष दर्घिकालिन योजनाका साथ जनताका मुद्धा सम्बोधन गर्न सबै एकजुट हुनुपर्छ ।” पर्यटकिय क्षेत्रको खानी हाम्रो प्रदेश छ उनले भने “सबै पर्यटकिय क्षेत्रको संरक्षण र प्रचार प्रसार गरौँ र पर्यटनबाट सम्बृद्धी खोजौँ, खानीको पहिचान गरी उधोग स्थापनामा लागौँ, हामी प्रदेशको बिकासमा सबै सांसद एक हुनुपर्छ ब्यक्तिगत स्वार्थमा कोहीपनि लाग्नुहुन्न अनी मात्रै हामी गुमेको बिश्वास फर्काउन सक्छौँ ।”

संघियतालाई बलियो बनाउने भुमिकामा रहेका प्रदेशसभा सदस्य र सरकारले जनतालाई बिश्वस्त पार्न नसकेकै कारण ५ बर्षमै संघियता प्रती प्रश्न उठेको प्रदेशसभा सदस्यहरु बताउँछन् । नेताहरु पैँसा कमाउन, भ्रस्टाचार गर्न मात्रै सरकारमा जान्छन भन्ने जनतामा परेको भ्रम चिर्नेगरी काम गर्नुपर्नेमा नव निर्वाचित प्रदेशसभा सदस्यहरुको जोड छ । ५ बर्षे कार्यकालमा संघियतालाई बलियो बनाउनुका साथै बिश्वासको केन्द्र प्रदेश सरकारलाई बनाउनुपर्ने उनिहरुले बताएका छन् ।

नेकपा माओवादी केन्द्र संसदिय दलका नेता खगराज भट्टले प्रदेशमाथी बिश्वास बढाउन नेतृत्वकर्ताकै हात रहने बताए । बिगतमा केही त्रुटी भएको हो की लागेको छ उनले भने “जहाँपनि संघियताप्रती बितृष्णता मात्रै सुनियो अब हामीले त्यो बितृष्णता अन्त्य गर्ने गरी काम गर्नुपर्छ, पक्कै जनताको सरकार प्रदेश रहेछ भन्नेगरी काम गरे मात्रै हामी अनी संघियता सफल हुन्छ ।”

हरेक दलित जनजाती, पिछिडिएको बर्ग, उत्पिडनमा परेको बर्ग लगायतको अधिकारकै लागी संघियता आएपनि थारु आदीबासीले अधिकार प्राप्त नगरेको भन्दै प्रदेशसभामा सदस्यहरुले गुनासो पोखे । नागरिक उन्मुक्ती पार्टीले २०७२ सालमा घटेको टिकापुर घटनालाई राजनितिक घटना बनाई सबै समुदायलाई सौहार्दपुर्ण वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ । पार्टीका प्मुख सचेतक लक्ष्मण किशोर चौधरीले सो घटनाका मुख्य योजनाकार बनाएर सरकारले रेशम चौधरीलाई जेलमा हालेर थारु समुदायमाथी थप अन्याय भएको भन्दै पार्टीले बन्दीहरुलाई रिहाई गर्नपनि माग गरेका छन् ।

निर्दोशलाई जेल हालेर सरकारले थारु जातीमाथी दमन गर्नु गलत हो उनले भने “एकतर्फी रुपमा थारु माथी मात्रै सरकार लाग्नु गलत छ त्यस कारण यो मुद्धा राजनितिक मुद्धा बनाएर सरकारले फिर्ता लिनुपर्छ, होइन भने हामी माघी सम्म माग सम्बोधन नभए संसद अवरुद्ध पार्नेछौँ ।”

सुदूरपश्चिम प्रदेशसभाले आगामी २८ गते सभामुखको निर्वाचन गर्ने सर्बसम्मत निर्णय गरेको छ । सभामुखका लागी सत्ता गठबन्धनबाट एमाले, माओवादी र नागरिक उन्मुक्तीबाट दावी गरिएको छ । केन्द्रको सत्ता बाँडफाँड अनुसार मुख्यमन्त्री माओवादीले पाए एमालेले सभामुख तथा एमालेको भागमा मुख्यमन्त्री परे माओवादीको भागमा सभामुख पर्ने देखिएको छ । यता प्रदेश प्रमुखका लागी नागरिक उन्मुक्तीको चर्चा चलिरहेको छ ।