खुटीयामा भ्रष्टाचार भएको भन्दै गोदावरी नगरपालिका घेराउ
2023/01/03, 4:09
 
khutiya

खुटीया नदीबाट नदीजन्य पदार्थ उत्खनन् र बिक्रीमा बदमासी गरेको भन्दै गोदावरी नगरपालिका घेराउ गरिएको छ। नेकपा एमाले गोदावरी नगरपालिकाले नगर प्रमुख विरेन्द्र भट्टले खुटीया नदीमा बदनीयत पूर्ण काम गरेको भन्दै नगरपालिका घेराउ गरेको हो

भ्रष्टाचार गर्ने नियतले नदीजन्य पदार्थ उत्खनन् र बिक्री भइरहेकाले तुरुन्त सत्यतथ्य बाहिर ल्याउन नेकपा एमाले गोदावरीले माग गरेको छ।नगर कमिटी अध्यक्ष गोकर्ण भट्ट नेतृत्वमा नगरपालिकाको कार्यालय परिसरमा नाराबाजी गर्दै गलत मनसायले नदी दोहन भइरहेको भन्दै विरोध गरिएको हो।

नेकपा एमाले गोदावरी नगर कमिटीले सर्वसाधारणले समेत बदमासी भएको भनिरहेका बेला नगरपालिकाले खुटीयाबाट नदीजन्य पदार्थ उत्खनन् गर्न रोक्नुपर्ने बताएको छ। नगरपालिका परिसरमा ’खुटिया काण्ड बन्द गर’ ’भ्रष्टाचार छानविन गर’ राजस्व चुहावट गर्न पाइदैन भन्ने नाराका साथ विरोध पर्दशन गरिएको हो।

खुटीयामा भएको आर्थिक अनियमितता विरुद्ध नेकपा एमाले गोदावरीले चरणवद्ध आन्दोलन गर्ने जनाएको छ। खुटीयाको विषयमा सत्यतथ्य सुनुवाई नहुन्जेल नेकपा एमाले गोदावरीले निरन्तर आन्दोलन गर्ने अध्यक्ष भट्टले बताए।