मोहनापुल-अत्तिरया ६ लेन सडक टुटफुट अवस्थामै हस्तान्तरणको तयारी
2023/01/04, 11:41
 
aa

धनगढीको मोहनापुल–अत्तरिया ६ लेन सडक हस्तान्तरणकालागि कार्यालयमा कागजात बुझाइएको छ। टुटफुट अवस्थामै निर्माण कम्पनीहरूले सो सडक टुटफुट अवस्थामै हस्तान्तरणको तयारी थालेका हुन्। मोहनापुल–अत्तरिया ६ लेन सडक १४ दशमलव ६ किलोमिटर रहेको छ।

उक्त सडकका दर्जनौँ ठाउँमा चिरा तथा खाल्टा पर्ने, भासिने र सडक सतह दब्बिएको भएपनि निर्माण कम्पनीहरूले निर्माण सम्पन्न भन्दै सडक विभागलाई हस्तान्तरण गरेका हुन्। दुई वर्षमा सबै काम सम्पन्न गर्ने भनेर २०७४ जेठमा सडकको ठेक्का सम्झौता भए पनि छैटौँ वर्ष अर्थात् गत असोजमा निर्माण कम्पनीले केही काम बाँकी छँदै सडक विभागलाई ६ लेन सडक हस्तान्तरण गरिसकेका छन् ।

तर मोहनापुलदेखि अत्तरियासम्म विभिन्न ठाउँमा सडक भत्किएको, दब्दिएको, चिरा परेको र खाल्टाखुल्टी परेको देख्न सकिन्छ ।सडकमा थुप्रै ठाउँमा समस्या आएकाले कारण जान्न हस्तान्तरण स्वीकार नगरी अनुसन्धान भइरहेको सडक हेर्ने जिम्मा पाएको महाकाली पुल योजना कार्यालयका प्रमुख डिभिजनल इन्जिनियर रामबहादुर गुरुङले बताए । सडकमा धेरै ठाउँमा समस्या आएको छ, हाइस्पीड लेनमा सबैभन्दा बढी समस्या छ, उनले भने– “किन समस्या आयो भनेर सडक विभाग र निर्माण कम्पनीका इन्जिनियरको टोलीले संयुक्त अध्ययन गरिरहेका छन् । एक हप्ताभित्र प्रतिवेदन दिनु भनेको छु । त्यसपछि कारण थाहा हुन्छ ।”

६ लेन सडकको दुवै तर्फको हाइस्पिड लेनमा मात्रै होइन जर्सी बेरियर पछाडि पनि कालोपत्र उप्किन लागेको स्थानीयको भनाइ छ । मोहनापुलको मुखैमा सडक भत्किन लागेको छ भने ट्राफिक चौराहादेखि गेटाको मत्स्य विकास केन्द्रसम्म धेरैजसो ठाउँमा सडक दब्दिएको, चिरा परेको र भाँसिएको छ । सडकमा निर्माण सम्बन्धी कामको सूक्ष्म अनुसन्धान भइरहेको भन्दै सडक विभाग र निर्माण कम्पनीको इन्जिनियरको टोलीले अध्ययन प्रतिवेदन बुझाएपछि मात्रै सोबारे के गर्ने भनेर भन्न सकिने महाकाली पुल योजना कार्यालयका डिभिजनल इन्जिनियर गुरुङले बताए।

एक अर्ब ६८ करोड लागतमा निर्माण भएको मोहना पुल–अत्तरिया ६ लेन सडकको विभिन्न ठाउँमा निर्माणलगत्तै कैफियत आएको भन्दै सर्वसाधारणले खबरदारी गरेका छन्। तोकिएको भन्दा तेब्बर समय लगाएर प्रदेशको राजधानीमा निर्माण भएको सडकको यस्तो हालतले राम्रो सन्देश नदिएको स्थानीयको गुनासो गरेका छन्।गोरखापत्रबाट