कैलालीमा तस्करी र हप्ता असुलीमा मुछिएका प्रहरीमाथि छानविन गछौँ: डीआईजी आचार्य
2023/01/04, 11:44
 
dd

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब निरीक्षक सई सुशिल चन्द र सहायक हवलदार नन्दराज भट्टमाथि छानविन हुने भएको छ । तस्करी र हप्ता असुलीमा मुछिएपछि दुवै जनामाथि छानविन गर्ने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।  प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षकडीआईजी मोहन आचार्यले तस्करी र हप्ता असुलीमा नाम जोडेर दुवै जना विरुद्ध बेनामी उजुरी परेको विषयमा गम्भीर ध्यानाकर्षण भएको बताए ।

उनले उनीहरुमाथि छानविन गरेर दोषी देखिएको खण्डमा प्रचलित कानून बमोजिम कारवाही गरिने जानकारी दिए । जिल्ला प्रहरीमा कार्यरत उनीहरु दुवै जना प्रहरीमाथि तस्करीको सामान भित्र्याउने र हप्ता असुल्ने गरेका आरोप लगाउदै कारवाहीको माग गर्दै विभिन्न निकायमा बेनामी उजुरी परेको छ । 

बेनामी उजुरीमा प्रहरीद्धय चन्द र भट्टले कार्यालय प्रमुखलाई समेत गुमराहमा राखेर तस्करलाई संरक्षण दिदै सामान भित्र्याउने गरेको भन्दै कारवाही गर्न माग गरिएको छ । सामान मात्र नभएर भारतीय मुद्राको कारोबार, सुन, काठ, लागुऔषध तस्करीमा उनीहरु संलग्न रहेकाले कारवाहीको माग गरिएको छ ।

उक्त उजुरीमा विभिन्न व्यक्तिका नाम उल्लेख गर्दै उनीहरुबाट लिएको रकम समेत राखिएको छ । गल्ती कमजोरी ढाकछोप गर्ने उद्देश्यले डराई, धम्क्याएर घुमुवा टोलीबाट हटाएको पनि उल्लेख छ । उक्त उजुरीमा भजनी, टीकापुर, हसुलिया लगायतका क्षेत्रबाट विभिन्न व्यक्तिसँग हप्ता असुलेको रकम समेत उल्लेख गरिएको छ ।