रेशम नछुटे नागरिक उन्मुक्तिले सुदूरपश्चिममा सरकारलाई समर्थन नगर्ने, अल्पमतमा गठबन्धन !
2023/01/04, 4:06
 
resham chaudhay

नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशमा सरकारलाई समर्थन गर्नका लागि रेशम चौधरीको रिहाइलाई ‘बटमलाइन’ बनाएको छ ।उन्मुक्तिले केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समर्थन गरेको छ । सरकारमा गएको छैन । प्रदेशमा भने रेशमलगायत बन्दी नछुटेसम्म नयाँ गठबन्धनलाई समर्थनै नगर्ने भएको हो ।

नागरिक उन्मुक्ति पार्टीको सुदूरपश्चिम संसदीय दलका नेता रामेश्वर चौधरीले आफूहरूका माग पूरा नभई प्रदेश सरकारमा नजाने बताए । प्रदेशमा नयाँ गठबन्धनलाई समर्थन पनि नगर्ने उनको भनाइ छ ।

“हामीले सुरुवातदेखि नै आफ्ना माग र मुद्दा अगाडि सारेका छौँ,” संसदीय दलका नेता चौधरीले भने, “जबसम्म रेशम चौधरीसहितका बन्दीहरू छुट्दैनन्, तबसम्म हामी न सरकारलाई समर्थन गर्छाैँ न त सरकारमा जान्छौँ ।”

अदालतले दोषी ठहर गरे पनि जनताले रेशमसहितका बन्दीको पक्षमा ‘म्यान्डेड’ दिइसकेको भन्दै उनले बिनासर्त उनीहरूको रिहाइ हुनुपर्ने माग गरे । टीकापुर घटनाका बन्दी छुटेपछि मात्र प्रदेश सरकार गठन र भागबन्डाका विषयमा छलफल हुने उनले बताए ।

तपाईंहरूले मुख्यमन्त्रीमा दाबी गर्दै आउनुभएको हो ? भन्ने प्रश्नमा चौधरीले भने, “त्यो त तपसिलको कुरा हो । पहिले त रेशम चौधरी रिहाइको हाम्रो माग जसले पूरा गर्छ, उसैसँग मिलेर सरकारमा जाने हाम्रो योजना छ ।” उनले प्रदेश सरकार निर्माणका विषयमा अहिले कुनै पनि दलसँग छलफल नभएको बताए ।

अल्पमतमा नयाँ गठबन्धन !
सात प्रदेशसभा सदस्य रहेको नागरिक उन्मुक्ति पार्टीले समर्थन नगरे सुदूरपश्चिममा नयाँ गठबन्धन अल्पमतमा पर्ने देखिन्छ । सुदूरपश्चिम प्रदेशसभा ५३ सदस्यीय छ । सरकार बनाउन २७ प्रदेशसभा सदस्य आवश्यक पर्छ ।

यहाँ नयाँ गठबन्धनअन्तर्गत नेकपा (माओवादी केन्द्र)का ११, नेकपा (एमाले)का १० र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक प्रदेशसभा सदस्य छन् । यो गठबन्धनका कुल २२ प्रदेशसभा सदस्य छन् । एक स्वतन्त्र सांसदको समर्थन लिए पनि बहुमतको सरकार बनाउन आवश्यक संख्या पुग्दैन ।

चार प्रदेशसभा सदस्य रहेको नेकपा (एकीकृत समाजवादी)सँगै एक स्वतन्त्रको समर्थन पाए एमाले, माओवादी र राप्रपाले सरकार बनाउन सक्ने अर्को अवस्था पनि छ ।

नागरिक उन्मुक्तिलाई मुख्यमन्त्री दिएर १९ प्रदेशसभा सदस्य रहेको कांग्रेस सरकारमा जाने चर्चा समेत सुदूरपश्चिममा छ । नागरिक उन्मुक्ति र कांग्रेस मिल्दा एक स्वतन्त्रको समर्थन पाए मात्र पनि सरकार बनाउन सक्ने अंकगणित पुग्छ ।

कांग्रेस सुदूरपश्चिमका महामन्त्री समेत रहेका प्रदेशसभा सदस्य मेघराज खड्काले सरकार बनाउनेबारे नागरिक उन्मुक्तिका नेतासँग सामान्य छलफल भएको बताए । “केन्द्रमा नागरिक उन्मुक्ति सरकारमा नगए पनि समर्थन गरेको छ,” उनले भने, “प्रदेशमा हामीसँग मिलेर जान खोज्छ भने हामी छलफलका लागि खुला छौँ ।”