कैलालीमा तस्करबाट रकम अशुली आरोप लागेका सई र हवल्दारको जिम्मेवारी खोशियो
2023/01/05, 1:14
 
kailali police

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) देवेन्द्र पालले घुस्याहाको बात लागेका दुई जना प्रहरीलाई जिम्मेवारीमुक्त गरेर छानबिन थालेका छन् । तस्करीको सामान ओसारपसार र हप्ता असुलीको आरोप लागेका जिल्ला प्रहरी कार्यालयका सिविल प्रहरीको प्रमुख प्रहरी नायब निरीक्षक सुशील चन्द र सहायक हवलदार नन्दराज भट्टको जिम्मेवारी खोसेर एसपी पालले छानबिन थालेका हुन् । 

एसपी पालले बेनामी उजुरी परेपछि दुवैलाई जिम्मेवारीबाट हटाएर छानबिन गरिरहेको जानकारी दिए । उनीहरूमाथि पैँसा असुलेको आरोप लागेपछि जिम्मेवारीमुक्त गरेर छानबिन अघि बढाइएको उनले बताए । दुवै जना सिविल प्रहरीका रूपमा कार्यरत थिए । हालै जिल्ला प्रहरी कार्यालय, नेपाल पत्रकार महासंघ कैलाली लगायतका निकायमा चन्द र भट्टले तस्करीको सामान भित्र्याउने गरेको तथा तस्करमा संलग्न व्यक्तिहरूबाट पैँसा लिने गरेको व्यहोराको बेनामी उजुरी हुलाकमार्फत परेको थियो ।

यसअघि पनि दुवै जनाका नाममा बेनामी उजुरी परेपनि प्रदेश प्रहरी कार्यालयले छानबिन गरिएको तर आरोप पुष्टि हुन नसकेपछि फाइल बन्द गरेको थियो तर पुन उजुरी परेपछि जिल्ला प्रहरी कार्यालयले एक्सन लिएको हो । प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) मोहनकुमार आचार्यले पनि उक्त प्रकरणको छानबिन गर्ने बताएका छन् । तर अहिलेसम्म छानबिन समिति गठन भने गरिएको छैन ।