रेशम चौधरीलाई प्रधानमन्त्री प्रचण्डको आश्वासन : दुई महिनापछि रिहा गर्छु, सहयोग गर्नुहोस
2023/01/07, 5:29
 
resham

प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले जेलमा रहेका रेशम चौधरीलाई दुई महिनाभित्रमा रिहा गर्ने आश्वासन दिएका छन् । प्रधानमन्त्री दाहालले यही पुष २६ गते विश्वासको मत लिँदैछन् । त्यो भन्दा अघि रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीको समर्थन लिन दाहालले यस्तो प्रस्ताव गरेका हुन् ।

उनीहरुबीच आज टेलिफोन वार्ता भएको जनाईएको छ । सो क्रममा सुदुरपश्चिम प्रदेशमा नेतृत्व दिनेबारे पनि दाहाल सकारात्मक बनेको सो दलका नेताहरुको दाबी छ । नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको रिहाईको माग राखेको छ । चौधरीको रिहाई नभए विश्वासको मत पनि नदिने उसको अडान छ । तर, दाहालले भने दुई महिनाको समय माग गरेका छन् ।

सरकार बनाउनुअघि पनि दाहालले चौधरीसँग भेटवार्ता गरेका थिए । नागरिक उन्मुक्ति पार्टीले प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरेको छ। तर, सरकारले ल्याउन लागेको न्यूनतम साझा कार्यक्रममा आफ्ना मागहरु समावेश नगरेको भन्दै सो दलले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको छ। उक्त दलले यस्तो निर्णय गरेपछि प्रधानमन्त्री दाहालले रेशमसँग फोनवार्ता गरेको बुझिएको छ ।