दोदा नदीमा ५ करोड बढीको लागतमा तटबन्ध निर्माण हुँदै
2023/01/08, 11:42
 
ss

कञ्चनपुरको लालझाडी गाउँपालिका–३ स्थित दोदा नदीले बर्सेनि गर्दै आएको भूक्षय नियन्त्रणका लागि तटबन्ध निर्माण सुरु गरिएको छ ।जनताको तटबन्ध कार्यालय महेन्द्रनगरले ५ करोड ९१ लाख रुपैयाँको लागतमा दोदा नदीमा १ हजार १२० मिटर लम्बाइको तटबन्ध निर्माण गरिरहेको छ ।

प्रशंसा भागेश्वर जेभीसँग तटबन्ध निर्माणका लागि ठेक्का सम्झौता भइ निर्माणकार्य अगाडि बढाइएको जनताको तटबन्ध कार्यालयका सूचना अधिकारी अरुणकुमार शाहले बताए । उनका अनुसार तटबन्ध निर्माण कार्य ३ खण्डमा हुनेछ । ‘चालू आर्थिक वर्षभित्रै तटबन्ध निर्माणकार्य सक्ने गरी निर्माण कम्पनीसँग सम्झौता गरेका छौं,’ उनले भने, ‘निर्धारित समयभित्रै तटबन्ध निर्माण पूरा हुन्छ ।’

गाउँपालिकाको वडा नम्बर ३ का वडाध्यक्ष टीकाराम चौधरीले नदीमा तटबन्ध निर्माण हुँदा बर्सेनि जग्गा कटानी भई केही परिवार विस्थापनमा परेको र केही परिवार विस्थापनको संघारमा रहेको बताए । ‘तटबन्ध निर्माण भएपछि नन्दगाउँ, कञ्ज, कस्वा लगायतका ४०० परिवार नदीको जोखिमबाट जोगिन्छन्,’ उनले भने, ‘धेरै अघिदेखि तटबन्धको माग गर्दै आएका हौं, तटबन्ध निर्माण हुने भएपछि यस क्षेत्रका वासिन्दा खुशी छन् ।’

तटबन्ध निर्माणले थोरै क्षेत्रका वासिन्दाको नदीको बाढीबाट सुरक्षा हुने भएको उल्लेख गर्दै उनले गुरुयोजना बनाइ गाउँपालिका क्षेत्रमा पर्ने नदीको पूरै क्षेत्रमा तटबन्ध निर्माण गरिनुपर्ने बताए ।