‘टीकापुर घटनाका निर्दोषहरुलाई रिहाइ गर्नु पर्दछ’
2023/01/09, 5:53
 
ss

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले टीकापुर घटनामा सरकारले थारुमाथि अन्याय गरेकाले न्याय गर्न माग गरेकी छन् । प्रतिनिधि सभा बैठकमा दलको नेताको हैसियतले सोमबार सम्बोधन गर्दै उनले सो माग गरेका हुन । 

पहिचानका लागि आन्दोलन गर्दा थारुहरूमाथि राज्यले अन्याय गरेको बताउँदै अध्यक्ष चौधरीले त्यसअघि अरू राजनीतिक घटना भए पनि त्यसलाई राजनीतिक घटना बनाएर न्याय गरेको उदाहरण भएको चर्चा गरिन । टीकापुर घटनाको आरोपमा जेल जीवन बिताइरहेकाहरूलाई तत्काल रिहाइ गर्न र झुठामुद्दा खारेज गर्न उनले सरकारसँग आग्रह गरिन । ‘टीकापुर घटना कुनै बन्द कोठामा घटेको घटना होइन’, उनले भनिन्,‘हजारौं त्यसका प्रत्यक्षदर्शी छन् ।’ 

टीकापुर घटनामा मारिएका एसएसपी लक्ष्मण न्यौपानेसहितको दुखद निधनप्रति आफूहरू दुःखी भएको र निर्दोष कोहीलाई अन्याय हुन नहुने उनले माग गरिन । लाल आयोगको प्रतिवेदन अझै सरकारले सार्वजनिक नगरेको भन्दै उनले त्यसको चाँडै सार्वजनिक गर्नुपर्ने गरिन । न्याय निरूपण नहुँदासम्म संसदमा आफूहरूले सङ्घर्ष जारी राख्ने उनले बताइन ।

निर्दोष नागरिकलाई जेलमा राख्न अनुचित रहेको भन्दै अध्यक्ष श्रेष्ठले विना सर्त रिहाइ गर्न सरकारसँग माग गरिन । अध्यक्ष श्रेष्ठले अन्यायमा परेकाहरूको न्यायका लागि आफ्नो दल निर्माण भएकाले निरन्तर न्यायको अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाइन । नवनिर्वाचित सबै सांसदलाई उनले बधाई ज्ञापन गरिन ।