सुदूरपश्चिममा एमालेको भागमा मुख्यमन्त्रीः रावल बन्ने पक्का, सभामुख र उपसभामुखमा टुङ्गो छैन
2023/01/09, 6:01
 
dd

सुदूरपश्चिम प्रदेशमा एमालेका नेता राजेन्द्र रावल मुख्यमन्त्री हुने भएका छन्। सत्ता गठबन्धनमा भएको सिट बाँडफाँड अनुसार पहिलो चरणमा एमालेले नेतृत्व गर्ने सहमति भएसँगै रावल मुख्यमन्त्री बन्ने पक्का भएको हो ।सुदूरपश्चिममा एमाले र माओवादीले आलोपालो सरकारको नेतृत्व गर्ने सहमती भएको हो।

पहिले एमालेले प्रदेश सरकारको नेतृत्व गर्ने छ। केन्द्रमा भएको सहमति अनुसार यहाँ माओवादीले दोस्रो चरणमा सरकारको नेतृत्व गर्ने छ ।एमाले संसदीय दलको नेता रावल सुदूरपश्चिमको साढे २ वर्षका लागि मुख्यमन्त्री हुनेछन्। त्यसपछि माओवादीका दलका नेता खगराज भट्ट मुख्यमन्त्री बन्ने छन्।केन्द्रको सहमति अनुसार यहाँ सभामुख माओवादी केन्द्र र उपसभामुख नागरिक उन्मुक्तिको भागमा परेको छ । मुख्यमन्त्रीको लागि एमालेबाट रावल पक्का भइसक्दा सभामुख र उपसभामुखको भने अझै टुङ्गो लाग्न बाकी छ।

सुदूरपश्चिम प्रदेशमा ५३ जना सांसद छन् । सरकार गठन गर्न २७ सांसद आवश्यक पर्छ। सत्ता गठबन्धन भित्र एमालेका १० माओवादी केन्द्रका ११ नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ सांसद छन्। सुदूरपश्चिम प्रदेशले २७ गते मुख्यमन्त्री पाउने छ भने २८ गते सभामुखको निर्वाचन तालिका सार्वजनिक भइसकेको छ।प्रदेश प्रमुखले २७ गते भित्र दलहरूलाई बहुमत पुराउन २० गते एक साताको समय निर्धारण गरेका थिए।

सभामुखका लागि भने पहिलो बैठकले २८ गते निर्वाचनको मिति तय भएको हो।यस्तै प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बैठक बसेर एमाले, माओवादी, राप्रपा, जनमतले बाँडफाँट गरेका हुन्, जसमा नागरिक उन्मुक्तिलाई पनि समावेश गराउन खोजिएको छ ।सहमतिअनुसार प्रदेश १, गण्डकी र लुम्बिनीमा एमालेले तथा कर्णालीमा माओवादीले पाँचै वर्ष सरकारको नेतृत्व गर्नेछन् । वाग्मतीमा सुरुमा माओवादीले र सुदूरपश्चिममा सुरुमा एमालेले सरकार चलाउने र अढाई वर्षपछि अदलबदल गर्ने सहमति भएको छ । मधेसमा सुरुमा जसपा र पछि जनमतले सरकारको नेतृत्व पाउने भएका छन् ।