कैलालीमा सरकारी ठेक्काको आडमा अवैध क्रसर
2023/01/13, 2:23
 
dd

 कालिका कन्स्ट्रस्कनले धनगढीमा संचालनमा रहेको सघन शहरी विकास आयोजनाका नाममा गोदावरी नगरपालिका वडा नम्बर ९ मा क्रसर राखेको छ। विभिन्न खण्डका लागि आवश्यक पर्ने ढुङ्गा, बालुवा तथा गिट्टीहरु क्रसरमा संकलन गर्दै आवश्यकताअनुसार आयोजनास्थलमा ढुवानी गर्ने उद्देश्यले सो स्थानमा क्रसर राखेको कन्स्ट्रक्सनको दाबी रहेको छ।

सघन शहरी विकास आयोजनाकै नाममा सो कन्स्ट्रक्सनले धनगढी उपमहानगरपालिका वडा नम्बर–११ बेलीमा पनि क्रसर संचालन गरिरहेको पाइएको छ। ‘एकै आयोजनाका लागि दुई–दुई स्थानमा कन्स्ट्रक्सनले क्रसर राखेको पाईयो। यो गर्नु उपयूक्त होइन,’ कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले भने।

निर्माण कम्पनीले नगरपालिकाको सिफारिस र आयोजनाबाट स्वीकृति लिएर क्रसर संचालन गर्ने अनुमति पाएको दाबी गर्दै आए पनि अनुगमनका क्रममा कागजपत्र माग गर्दा दिन सकेन। सहायक प्रजिअ जोशीले भने, ‘धनगढीमा पनि कालिकाले क्रसर राखेको छ भने गोदावरीमा पनि संचालन गरेको छ। यो एकै आयोजनाको हो।’

उनले आयोजनाका लागि संचालन भएको क्रसर क्षेत्रमा अनुमति पत्र लगायतका विवरण पनि नरहेको बताए।

कालिका मात्र होइन अन्य आयोजनाका नाममा संचालनमा रहेका क्रसर उद्योगले पनि एकभन्दा बढी ठाउँमा क्रसर राख्ने गरेका छन्। कुनै क्रसर उद्योगले आयोजना स्थलभन्दा पनि अन्य क्षेत्रमा ढुवानी गर्ने गरेका छन्।

प्रशोधन केन्द्रमा क्रसर
कैलालीको गोदावरी नगरपालिकामा रहेको बेहडाबाबा बालुवा प्रशोधन केन्द्रले क्रसर उद्योग राखेको पाइएको छ। बालुवा प्रशोधनका नाममा दर्ता भएको उद्योगले बालुवा मात्रै चाल्दैन, ढुंगा, गिट्टी र रोडाका सबै काम गर्छ। अर्थात् बालुवा प्रशोधनका नाममा क्रसर उद्योग चलाइएको छ।

बालुवा प्रशोधनका लागि दर्ता भएको सो उद्योगले क्रसर नै राखेर नदीजन्य पदार्थ संकलन गरिरहेको पाइएको कैलाली सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए।  धनगढी उपमहानगरपालिका वडा नम्बर ११ मा कालिका कन्स्ट्रक्सनले ढुङ्गा, बालुवा संकलन गरि राखेको छ। वन र खोला नजिकै नदीजन्य पदार्थ संकलन गरेर राखेको सो कम्पनीसँग अनुमति पत्र छैन।

सहायक प्रमुख जिल्ला अधिकारी जोशीले श्रीपुर कंक्रिट उद्योगबाहेक अन्य ४ क्रसर तथा प्रशोधन केन्द्रमा कैफियत भेटिएको बताए। कागजपत्र नहुनु, एकको अनुमति लिइ अन्य काम गर्नु लगायतका त्रुटी यी उद्योगमा भेटिए।  जिल्ला प्रशासन कार्यालय अहिले यी सबै अबैध क्रसरहरु बन्द गर्न निर्देशन दिएको छ ।