सुदूरपश्चिमका सांसदलाई पटकपटक सिकाउनुपर्छ मर्यादाको पाठ, तैपनि दोहोर्‍यारहन्छन् गल्ती
2023/01/17, 1:34
 
sudurpaschim

शनिवार सुदूरपश्चिम प्रदेश सभाको बैठकमा मुख्यमन्त्री नियुक्त भएर शपथग्रहण गरेका राजेन्द्र सिंह रावलले प्रदेश सभा बैठकभित्रै फोन गरे। फोन गरेको देखेर एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारीले नियमापत्ति जनाए।

लगत्तै सभाध्यक्ष शिवराज भट्टले उनलाई बाहिर गएर फोन गर्न निर्देशन दिए। सभाध्यक्षको निर्देशनपछि मुख्यमन्त्री रावल बाहिर निस्कन बाध्य भए। त्यसअघि बिहीबारको प्रदेश सभा बैठकमा नेकपा एमालेका प्रदेश सभा सदस्य चक्र मल्ल सभामुखको निर्वाचनका लागि प्रदेश सभाका सबै ढोका बन्द भएपछि सभा स्थलमा पुगेका थिए। ढिला पुग्दाको परिणाम, मर्यादा पालकलाई थर्काउँदा पनि उनका लागि प्रदेश सभाको ढोका खुलेन। जसले गर्दा मतदानमा सहभागी नै हुन पाएनन् मल्ल। उनी समयमै उपस्थित भएको भए बिहीबार नै सुदूरपश्चिम प्रदेश सभाले सभामुखको छिनोफानो गर्ने थियो।

मंगलवार पनि दोहोरियो यस्तै दृश्य। बिहीबार एक मत नपुगेर सभामुख निर्वाचित हुनबाट रोकिएका थिए, गठबन्धनका उम्मेदवार तथा माओवादी केन्द्रका सांसद भीम भण्डारी। मंगलवारको प्रदेश सभा बैठकमा जनाउ घण्टी बज्ने बित्तिकै तर्सिए माओवादीका सांसद। जनाउ घण्टी बजेपछि ओमविक्रम भाट सरल र भीम भण्डारी सांसदहरू खोज्न लागे। भण्डारी संसदीय दलका नेता ‘खगराज खै’ भन्दै खोज्न थाले। उनले खोजी गरेका खगराज भट्ट समयमै पुगेका भए पनि माओवादीकी सांसद लक्ष्मी विकले भने सभामुखको निर्वाचनको एक चरण सम्पन्न भएपछि मात्रै प्रदेश सभामा प्रवेश पाइन्। उनले पहिलो चरणमा निर्णयार्थ प्रस्तुत भएको नेपाली काँग्रेसका उम्मेदवार मानबहादुर रावललाई सभामुख बनाउने प्रस्तावको विपक्षमा मतदान गर्न पाइनन्। उनीमात्र नभएर नेपाली कांग्रेसका संविधान सभा सदस्यसमेत रहेका दिवानसिंह विष्ट, ललिता सुनार, गीता चौधरीले पनि रावलको पक्षमा तथा भीम भण्डारीको विपक्षमा मतदान गर्न पाएनन्। जसको परिणाम स्वरूप उक्त निर्णयार्थ प्रस्ताव अर्थात् रावललाई सभामुख बनाउने पक्षमा २० र उनलाई सभामुख नबनाउने पक्षमा २८ मत खस्यो।

त्यसपछि गठबन्धनका उम्मेदवार भीम भण्डारीलाई सभामुख बनाउने पक्षमा भने ५२ जना प्रदेश सभा सदस्य उपस्थित थिए। प्रदेश सभा बैठक आधा सम्पन्न भई सक्दासम्म पनि सुदूरपश्चिम प्रदेश सभाका सदस्यलाई सभाको मर्यादा मर्यादापालकले सिकाउनुपर्न अवस्था दोहोरिएको छ।