लयमा फर्कियो शेयर बजारः आठ कम्पनीका लगानीकर्ताले नौ प्रतिशत बढी कमाए
2023/01/17, 4:15
 
tryy

 शेयर बजार पुनः लयमा फर्किएको छ । केही समय यता उकालो चढिरहेको बजार गत साताको मंगलबार र विहीबार उच्च अंकले घटेको थियो । गत बुधबार भने पृथ्वी जयन्तीको बिदाका कारण बजार बन्द रहेको थियो ।  माघ १ गते आईतबार माघे संक्रान्तिको बिदा र हिजो सोमबार पोखरामा भएको हवाई दुर्घटनाको शोकमा सरकारले बिना दिएपछि आजबाट बजार खुुलेको हो । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३२.७२ अंकले उकालो लागेको छ । १.५२ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २१८२.११ अंकमा उक्लिएको छ ।  आज २५० कम्पनीका १ करोड १८ लाख ८३ हजार २ सय ८७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७२ करोड ४७ लाख ९४ हजार ५ सय ८७.७६ रुपियाँ बराबरको कारोबार भएको हो । 

बजार बढेको दिन ८ कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा बढी बढेको छ । ग्रीन भेञ्चर लिमिटेड, आदर्श लघुवित्त र पिपुल्स हाइड्रोको शेयर मूल्य १०–१० प्रतिशतले बढेको हो । त्यसैगरी बाराही हाइड्रो, घलेम्दी हाइड्रो, हिमालयन हाइड्रो, बलेफी हाइड्रो र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम २ का लगानीकर्ताहरुले क्रमशः ९.९७, ९.९६, ९.८१, ९.८१ र ९.१६ प्रतिशतले नाफा कमाएका छन् ।  शेयर मूल्य धेरै बढ्ने टप टेन कम्पनीमा परेको अपि पावर र शिवश्री हाइड्रोका लगानीकर्ताले क्रमशः ८.९७ र ८.७३ प्रतिशतले नाफा कमाए । 

यता आज सबैभन्दा बढी प्रभु सेलेक्ट फण्डका लगानीकर्ताले ८.४५ प्रतिशतले घाटा व्यहोरेका छन् । आज ५५ कम्पनीबाहेक सबैको शेयर मूल्य बढेको छ ।  आजैमात्र हकप्रद शेयर जारी गर्ने घोषणा गरेको अपि पावरको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २३ करोड २६ लाख ८ हजार ३ सय ८८.२० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।