धनगढीमा दीपेन्द्र स्वार स्मृति डीसीए कप क्रिकेट हुने
2023/01/17, 6:12
 
धनगढीमा दीपेन्द्र स्वार स्मृति डीसीए कप क्रिकेट हुने

धनगढी - धनगढी क्रिकेट एकेडेमी(डीसीए)को आयोजनामा दीपेन्द्र स्वार स्मृति स्कुल क्रिकेट प्रतियोगिता हुने भएको छ ।

धनगढीको फाप्ला क्रिकेट मैदानमा यही माघ ५ गतेबाट उक्त प्रतियोगिता हुनेछ । प्रतियोगितामा २० वटा स्कुलहरुको सहभागिता रहेको छ ।

माघ १६ गतेसम्म चल्ने प्रतियोगिता टी२० फम्र्याटमा हुनेछ । फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगिताको विजेताले ५० हजार तथा उपविजेताले ३० हजार पाउनेछ ।

यस्तै प्लेयर अफ द टुर्नामेन्टले ५ हजार नगदसहित डीसीएमा ४ महिनाको छात्रवृत्तिमा क्रिकेट सिक्न पाउने डिसीएका व्यवस्थापक समुयल न्यौपानेले बताए ।

त्यसबाहेक वेस्ट बलर र बेस्ट ब्याटरले ३३ हजार नगद र ३ महिनाको छात्रवृत्ति पाउनेछन् ।

डीसीएका पुर्व खेलाडी समेत रहेका दीपेन्द्र स्वारको सडक दुर्घटनामा निधन भएको थियो । आफ्नो छोराका स्मृतिमा परिवारले हरेक वर्ष उनको स्मृतिमा क्रिकेट प्रतियोगिता गर्दै आएको छ ।

मेरो छोराको पनि खेलप्रति ठूलो रुचि थियो । खेलले अनुशासनमा बस्न र स्वास्थ्य नागरिक उत्पादनमा सहयोग पुर्याउँछ, दीपेन्द्रकी आमाबासु बम स्वारले भनिन्,

एकेडेमीका व्यवस्थापक न्यौपानेले स्कुललेभल देखि नै ग्रासरुट क्रिकेटको विकासमा योगदान पुगोस भन्ने हेतुले स्कुल स्तरीय प्रतियोगिता आयोजना गरिएको बताए ।

स्कुलमै थुप्रै क्रिकेटप्रति रुचि भएका प्रतिभावान खेलाडीहरु हुनुहुन्छ, न्यौपानेले भने, ‘उहाँहरुलाई उचित प्लेटफर्म दिन र उहाँहरुको प्रतिभा चिनि त्यसलाई तिखार्ने प्रतियोगिताको उद्देश्य हो ।

डीसीएको स्कुल स्तरीय प्रतियोगिताबाट पहिचान भएका नारायण जोशी, बसन्त कार्कीलगायत खेलाडीहरु हाल राष्ट्रिय प्रतियोगिता खेलिरहेका छन् । 

प्रतियोगितालाई एसपीए कलेज, गुरुकुल एकेडेमी, गुरुजी सपिङ एण्ट सुटिङ, सिभिल बैंक, नवजीवन हस्पिटल तथा सौराई स्वायरलगायतले प्रायोजन गरि सहयोग गरेका छन् ।