धनगढीका तिलक आफैँलाई चित्त नबुझेको ‘के लत बस्यो...’
2023/01/18, 12:49
 
ss

गजलकार डा. प्रदीपकुमार मैनाली केही महिनाअघि तिलकसिंह पेलाकोमा पुगे । संगीतसाधक तिलककोमा मैनालीसँगै पुगेका थिए, गजलकार भोजराज घिमिरे र भुवन बोहोरा । प्रदीपले खोले गजलको डायरी । र, सुनाउन थाले गजल । उनले तीन गजल सुनाएपछि तिलकले भने– मलाई यो गजल मन पर्‍यो । संयोग भनौँ अथवा अरू केही, प्रदीपलाई पनि त्यही गजल मन परेको रहेछ । त्यो गजल हो, अहिले धेरैले मन पराएको– के लत बस्यो.....

तिलक तिनै संगीतसाधक हुन्, जो सांगीतिक रियालिटी शो ‘भ्वाइस अफ नेपाल’को पहिलो सिजनमा सुशील गर्तौलालाई लिएर ‘ब्लाइन्ड राउन्ड’मा पुगेका थिए । सुशील भित्र शास्त्रीय संगीतको आलाप लिइरहँदा बाहिरबाट उनको गायकीलाई घोरिएर स्क्रिनमा हेरिरहने तिनै व्यक्ति हुन्, तिलक । जसको गायकीको अहिले संगीतप्रेमीले मुक्तकण्ठले प्रशंसा गरिरहेका छन् ।

भ्वाइस अफ नेपालमा देश–विदेशबाट सुशीलको तारिफ भयो । तिनका पनि गुरु तिलकको कण्ठको जादुको के कुरा १ संगीतका असली शुभेच्छुकको दिलमा उनको स्वरले राज गर्ने नै भयो । गर्‍यो । गजल आफ्नै घरमा आइपुग्यो । संगीत भर्नै पर्‍यो । अक्सर उनी व्यावसायिक रूपमा कम्पोज गर्दैनन् । तर, कोही आफूलाई सम्झिएर आउँछ भने निराश बनाउनु हुँदैन भन्ने उनको मान्यता छ । त्यसैले प्रदीपको गजलमा उनले लय भर्नुपर्ने भयो । यस्तै लय भर्नुपर्छ भन्ने कहीँ कतै सूत्र छैन । सूत्र हुन्थ्यो त रटान लगाएर प्रदीप आफैँ भर्थे होलान्, किन जानुपर्थ्यो तिलकलाई खोज्दै १

गजल हात पर्‍यो, उनी गुनगुनाउन थाले । कसैको कस्तो तरिका, कसैको कस्तो । तिलक भने शब्द हात परेपछि गुनगुनाउन थाल्छन्, संगीतको लय पक्रन । यसमा पनि त्यस्तै गरे । लय बनाउँदै गरे । तानपुरामा बसे । धुन खोजे । अन्तिममा हार्मोनियममा बसे । यो उनको संगीत खोज्ने तौरतरिका हो । डेढ महिना बित्यो शब्दमा लय भर्न । कहिले कुन रागमा, कहिले कुन रागमा । थुप्रै लय भरे । चित्त बुझेन । माया मारे । अर्को रागमा लय भरे । फेरि उस्तै । जब उनले राग मालकौँसमा लय भरे, तब आफैँलाई चित्त बुझ्यो ।

प्रदीपलाई बोलाए । सुनाए । उनले एकै श्रवणमा लय मन पराए । प्रदीपले भने, ‘यसलाई अब रेकर्ड गराउनुपर्छ ।’ डेढ महिनाको अथक प्रयासले जन्मिएको लय रेकर्ड गर्नु त राम्रै हो । उनैले प्रस्ताव गरे, कमल विष्ट । उनको स्वर राम्रो छ, यो लयमा कमलले न्याय गर्छन् । उसैलाई गाउन लगाउनुपर्छ । कमलले गएको साउनमा काठमाडौंमा भएको एक कार्यक्रममा यो गजल गाएका थिए । उपस्थितहरूले मन पनि पराएका थिए । तर, प्रदीपले अर्कै प्रस्ताव गरे । तिलक अचम्ममा परे । प्रदीपको प्रस्ताव थियो– तपाईं आफैँले गाउनुपर्छ ।

अर्थात्, तिलकले गाउनुपर्छ । उनले कल्पना पनि नगरेको प्रस्ताव । अपेक्षा त परको कुरा । प्रस्ताव आयो, गाउने व्यक्ति नै हुन्, कसरी भन्नु नाइँ रु प्रदीपलाई निराश नबनाउँदा गजलका शब्दमा लयसँगै स्वर मिसिने भयो, तिलककै । रिदम कडेँलको स्टुडियोमा स्वर भर्ने कुरा भयो । रिदम तिलककै शिष्य हुन् । उनकै स्टुडियोमा गजल रेकर्ड भयो । आजकाल धेरैले भन्छन्– संगीत हेर्ने भइसक्यो । भन्छन् मात्र होइन, गर्छन् पनि । त्यसैले त गीतको भिडियो बनाइन्छ । तर, तिलकको स्वभाव र विचार अलि फरक छ । गीत अडियोमा बलियो हुनुपर्छ । भिडियो त त्यसपछिको तपसिलको विषय हो । त्यसैले यसमा उनीहरूले अडियोमा जोड दिए ।

युट्युब अहिले गीत सुन्ने सबैभन्दा आकर्षक प्लेटफर्म हो । यसलाई बाइपास त गर्नै सकिँदैन । त्यसैले भिडियो त चाहियो । मोबाइलमा रेकर्डिङ गर्दै गरेको भिडयो खिचे । त्यसैलाई केही सम्पादन गरे । अर्थात्, गीत बलियो अडियोले हुन्छ, भिडियोले होइन भन्ने उनको विचार यसको भिडियोले पनि पुष्टि गर्छ । तिलकको स्वरमा गजल आयो । स्रोतारदर्शकले मन पराएरपराइरहेकै छन् । प्रतिक्रिया राम्रो आइरहेको छ । तर, उनी आफूलाई चित्तै बुझेको छैन रे ...

“मलाई मेरो स्वर चित्त बुझेको छैन । यो गीतमा मात्रै होइन, मलाई कुनै पनि गीतमा म पूर्ण छु, मेरो स्वर पूर्ण छ भन्ने लाग्दैन,” अहम् होइन, तिलकले आफ्नो कुरा सुनाए, “स्वर सुर र तालमा पक्कै पनि छ । सुर र तालमा म खुस्किएको छैन । तर, हरेक लाइनलाइनमा अझै राम्रो गर्न सकिन्थ्यो भन्ने लागिरहेको छ ।” उनी खासमा आफूलाई गायक होइन, संगीतका शिक्षकका रूपमा लिन्छन् । आफ्नो होइन, अरूको स्वर सुनेर रमाउँछन् । त्यसमै खुसी हुन्छन् । सायद इमानदार शिक्षकमा हुनुपर्ने गुण पो हो कि यो अरूलाई मन्त्रमुग्ध बनाउने संगीत कसरी जन्मिन्छ रु सायद धेरैको जवाफ रहला– संगीतको साधनाले । यसमा तिलकको धारण अलि फरक छ ।

“सवकन्सस् माइन्डमा हरेक व्यक्तिको संगीत हुन्छ, त्यसलाई साधनामार्फत अझ मार्धुय बनाएर प्रस्फुटन गर्ने काम मात्रै हाम्रो हो,” तिलक भन्छन्, “हामी त गाइड गर्ने व्यक्ति मात्रै हो । आत्मामै संगीत हुन्छ, त्यसलाई देखाइदिने मात्रै हो ।” शब्दमा लय र धुन मिसिएपछि त्यसको गुणात्मकताका आधारमा व्यक्तिको ध्यान खिच्छ । यसरी ध्यान खिच्ने धुनचाहिँ कसरी सिर्जना हुन्छ र ? उनको छोटो जवाफ– साधना नै हो । अगाडि थप स्पष्ट पार्दै भन्छन्, “शब्दअनुसार धुन खोज्ने हो । शब्दको गहिराइमा पुगेर स्वर भर्ने हो । जसले यी दुई कुरामा न्याय गर्छ, त्यो संगीत राम्रो हुुन्छ ।”

त्यसैले त तिलक साधनामा तल्लीन रहन्छन् । के दिन के रात संगीतमा डुब्नु उनको रहर हो । रहर साधनामा परिणत भएपछि त्यसको प्रतिफल गीतमा देखिन्छ । उनका गीतको संख्या मात्र ४० हो । तर, उनले गीत नगाएको दिन हुँदैन । संगीतको साधना नगरेको समय हुँदैन । मात्र रेकर्ड पातलो संख्यामा हुने हो । अरूलाई सिकाइरहने तिलक सिकाउँदा गाइरहन्छन् । त्यसमै उनी रमाइरहन्छन् । गायनमा उनी खासै लोभ गर्दैनन् । केही समय पहिले उनले २३ वर्षपछि सांगीतिक एल्बम ‘निर्जन किनार’ ल्याएका थिए ।

उनले आठ वर्ष बनारसमा देवासिस देवबाट शास्त्रीय संगीतको ज्ञान लिएका थिए । नेपालमा धनबहादुर गोपालीबाट संगीत सिकेका थिए । “संगीत त म अहिले पनि सिकिरहेको छु । कहिले अग्रजबाट कहिले आफ्नै शिष्यहरूबाट पनि संगीत सिकिरहेकै हुन्छु,” तिलक भन्छन्, “यो कहिल्यै नसकिने अनन्त प्रक्रिया हो । सिक्दै निखार्दै जाने हो ।”

स्कुल पढ्दादेखि नै संगीतका सौखिन तिलक संगीतमा डुब्थे । विद्यालय र स्थानीयस्तरमा हुने कार्यक्रममा गाउँथे । आफ्नै घरमा दाइ कृष्णसिंह पेला गीत लेख्थे । उनै कृष्णले तिलकमा हौसला भरिदिएका थिए– तँ गाउन सक्छस्, गाउनुपर्छ भनेर । दाइकै प्रेरणामा औपचारिक रूपमा ०५३ बाट उनले गायनमा स्वर भर्न थालेका थिए । कालान्तरमा उनी गायक त छँदै छन्, त्योभन्दा बढी संगीतका गुरु छन् । स्टेजको चमकदमकभन्दा पर्दा पछाडिको योगदान नै उनलाई प्रिय छ । त्यसमै उनको मन रमाइरहेको छ ।

संगीतका धुनसँग मित लगाउने तिलक गायकले शब्दसँग पनि खेल्नुपर्ने बताउँछन् । अन्यथा, त्यसको भाव मर्ने र संगीत र शब्दबीचको तादात्म्यता नमिल्दा समग्र गीतले नै न्याय नपाउने उनको अनुभव छ । यही गजलभित्र रहेर उनले एउटा उदाहरण दिए– यो गजलको अन्तिमको लाइनमा खोला, नदी र समुद्र भन्ने शब्द छ । यो गाउँदा त्यसको भावअनुसार गाइएन भने त्यसले स्रोतामा प्रभाव पार्न सक्तैन । यो गीत सुन्दा विचार गर्नूस्, खोला सबैभन्दा माथि हुन्छ, त्यसैले त्यसको उच्चारण पनि हाइमा छ । बीचमा नदी हुन्छ र सबैभन्दा तल समुद्र हुन्छ । त्यसैले मिडमा नदी र समुद्र शब्द लो उच्चारणमा गाइएको छ ।”

तिलकको एउटा विशेषता छ, त्यो हो – खासै गीत नसुन्ने । उनले सानोमा जति गीत सुने, सुने । अहिले त्यति धेरै सुन्दैनन् । त्यसैले बजारका चलेकै गायकरगायिकाको नाम लियो भने पनि उनी खासै खुट्ट्याउन सक्तैनन् । “शास्त्रीय संगीत आफैँमा संगीतको समुद्र हो । गीत त समुद्रको एउटा थोपा मात्रै,” तिलक भन्छन्, “संगीतको समुद्रमै तपाईं हुनुहुन्छ भने थोपा त त्यसको एक अंश मात्रै भयो, होइन र ?”

त्यसो त अरूको संगीत सुन्नु हुँदैन भन्ने उनको तर्क होइन । तर, समुद्रभित्र पसेर त्यसको रसपान गर्दै गर्दा त्योभन्दा सानो कुरामा सायद कोही रोकिँदैन कि भन्ने उनको निष्कर्ष हो । यद्यपि, उनी संगीतका शिक्षक भएकाले अधिकांश समय शिक्षणमै बिताउँछन् । अरूका गीत सुन्ने समय कमै हुन्छ ।

अहिलेको सांगीतिक बजारमा तिलकका शिष्य को–को हुन् रु “अहिलेको बजारमा शास्त्रीय संगीत कहाँ चल्छ र रु अहिलेका बजारका चल्तीका कलाकारभन्दा पनि साधना गरेर अब्बल गायकरगायिका अवसर नपाएर बसिरहेका छन्,” तिलक भन्छन्, “तपाईं सुशील गर्तौलालाई चलेको गायक भन्नुहुन्छ कि हुन्न रु ऊभन्दा पनि अब्बल धेरै संगीतका साधक अवसर नपाएर बसिरहेको अवस्था छ । सायद कुनै दिन उनीहरूको पनि समय आउला ।”

चमकदमकभन्दा पनि क्वालिटी म्युजिकको समयको पर्खाइमा धेरै संगीतसाधक छन् भन्ने तिलक उनीहरू उचित समयको पखाईमा साधनारत रहेको सुनाउँछन् । र, भन्छन्, “त्यो समय पनि आउँछ, जहाँ क्वालिटी म्युजिकको माग हुन्छ ।” बाह्खरीबाट