टेन्टमुनि चिसो रात काट्दै कैलालीका अग्निपीडित मुक्त कमैया
2023/01/19, 6:46
 
ss

कैलालीको कैलारी गाउँपालिका –७ स्थित विपतपुरका अग्निपीडित मुक्त कमैयाहरु टेन्टमुनि चिसो रात बिताउन बाध्य भएका छन् । घर अझै नबनेकाले उनीहरु टेन्टमुनि चिसो रात बिताउन बाध्य भएका हुन । 

गत वैशाखमा आगलागी हुँदा सो बस्तीको २७ घर पूर्णरुपमा जलेर नष्ट भएको थियो । त्यसपछि अग्निपीडित धेरै परिवार सङ्घ संस्थाले दिएको टेन्टमा बस्दै आएका छन् । यो जाडोमा टेन्टमुनि कष्टकर रात बिताइरहेको उहाँहरुको गुनासो छ । ‘टेन्टले शीत रोक्न सक्दैन’, सीता चौधरीले भनिन्, ‘रातभरि चुहिन्छ । बिस्तरा सबै भिज्छ ।’ टेन्टमुनि चिसो रात बिताउँदा बालबालिकासहित ठूला मान्छे पनि बेला–बेला बिरामी परिरहेको मुक्त कमैयाले जनाएका छन् । ‘रुखाखोकी लागेर धेरै बालबच्चा बिरामी पर्नेगरेका छन्’ सीताले भनिन् । 

अग्निपीडित मुक्त कमैयाको विगत नौ वर्षदेखि टेन्टको बास छ । भएको घर जलेर नष्ट भएको र अर्को बनाउन नसकिएपछि सङ्घ संस्थाले दिएको टेन्टमा बस्दैआएको पीडित जोहारीलाल चौधरीको भनाइ छ । ‘दुःखकष्ट भोगेर जेनतेन जाडोयाम कटाइरहेका छौं’, उनले भनिन् । 

अग्निपीडितले थारु समुदायको सबैभन्दा ठूलो पर्व माघ माघी पनि टेन्टमै मनाएका छन् । माघ थारु समुदायको नयाँ वर्ष मात्रै नभइ मुक्त कमैयाका लागि स्वतन्त्रताको पर्व पनि हो । तत्कालीन समयमा कमैयाहरुले माघ पर्वमा मात्रै मालिक वा जमिन्दारको घरबाट बिदा पाउने गर्दथे । वर्षमा उनीहरु माघी पर्वमा मात्रै बिदा पाउने गरेका कारणले मुक्त कमैयाले यसलाई स्वतन्त्रताको पर्वको रुपमा मनाउँदै आएका छन् । विपतपुरका मुक्त कमैयालाई यस वर्षको माघको रौनकले खासै छोएन । नाचगान नगरेर साधारण तरिकाले माघ मनाएको सीताको भनाइ छ । ‘अरु बेला नाच हुन्थ्यो, तर यस पटक दुःख परेकाले त्यस्तो केही भएन’ उाले भनिन् । 

अग्निपीडित मुक्त कमैयाको घर एकीकृत मुख्यमन्त्री बस्ती विकास कार्यक्रम अन्तर्गत प्रदेश सरकारले बनाउँदैछ । २७ वटा घर निर्माणका लागि शिलान्यास गरिए पनि निर्माणको कार्य भने हालसम्म अगाडि बढाइएको छैन । चार महिनाको अवधिमा घर निर्माण हुने सम्झौता गरिए पनि निर्माणको कार्य सुरु नभएको बस्तीका भलमन्सा हिङ्गुराम चौधरीले बताईन  । 

कुल एक करोड ८२ लाख १२ हजारमा २७ वटा पक्की घर बन्ने जनाइएको छ । जसमा ९० लाख रुपियाँ प्रदेश सरकारको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र ५४ लाख रुपियाँ सुरक्षित आवास परियोजनाको रहनेछ । ३८ लाख १२ हजार रुपियाँ बराबरको जनश्रमदान लाभग्राही समुदायले गर्ने जनाइएको छ ।