कर्णाली र सुदूरपश्चिम प्रदेश जोड्ने पुल बनेपछि सहज, १४ किलोमिटरमै महेन्द्र राजमार्ग भेटिने
2023/01/20, 5:45
 
dd

सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर ११ कुइने र कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ७ बडीगाउँ जोड्न कर्णाली नदीमा पक्की पुल निर्माण भएसँगै कर्णाली प्रदेशबाट सुदूरपश्चिमको यात्रा सहज भएको छ। पुल बनेपछि कर्णाली र सुदूरपश्चिम प्रदेश पनि जोडिएका छन्।

सुर्खेतको कुइने–चिसापानी बाटोमा कर्णालीवारि र पारि सडक सञ्चालनमा छ। सुर्खेतको पश्चिमी र कैलालीको मोहन्याल क्षेत्रका स्थानीयका लागि अब पुलले लुम्बिनी र सुदूरपश्चिमको यात्रा छोटो बनाएको छ। तीन सय मिटर लामो पुल ३२ करोड रुपैयाँको लगानीमा निर्माण भएको हो। पुल बनेपछि स्थानीयको वर्षौंदेखिको पैदलयात्रा अब गर्नु नपर्ने भएको छ।

यसअघि सुदूरपश्चिम प्रदेशसँग जोडिएको सुर्खेतका पञ्चपुरी नगरपालिका, बराहताल र चौकुने गाउँपालिकाका बासिन्दालाई कैलाली हुँदै भारतबाट आउने व्यापारिक सामग्री ढुवानी गर्न असहज थियो। ‘अब पुल बन्यो, भारतबाट दैनिक उपभोग्य सामग्री वीरेन्द्रनगरभन्दा सस्तो र छिटो यहाँ आउन थालेका छन्,’ पञ्चपुरी नगरपालिका नगरप्रमुख लालवीर भण्डारीले भने, ‘यसअघि सामानकै लागि झोलुङ्गे पुल, डुंगा र फेरी तर्दै कर्णाली चिसापानी हुँदै कटासे, गौरीफन्टा र कैलालीका विभिन्न बजारमा पुग्नुपर्ने बाध्यता थियो।’

सुर्खेतको घाटगाउँ, तातापानी, गुठु बाबियाचौर गाउँसहित छिमेकी दैलेख, अछाम, कालीकोट, हुम्ला र जुम्लावासीलाई सुदूरपश्चिम जान सजिलो भएको नगर प्रमुख भण्डारीले बताए। ‘पहिला डुंगाबाट नदी तर्नुपर्थ्यो, त्यसमा पनि पैदलयात्रा गर्नुपर्ने बाध्यता,’ उनले भने, ‘अहिले त वारिपारि सडक पनि भयो यात्रा छोटियो, सास्ती पनि हट्यो।’ पुल बनेपछि सहज भएको पञ्चपुरी–६ का प्रेम सुनार पनि बताउँछन्। ‘पुल बनेपछि अहिले धेरै सहज भएको छ,’ उनले भने, ‘यो बाटो र पुलले अछाम, दैलेख, कालीकोट, हुम्ला र जुम्लालाई पनि तराईसँग जोडेको छ।’

विगतमा यी बाटा भएर हाटबजार जान पनि निकै कष्टकर यात्रा गर्नुपरेको सुनार सम्झिन्छन्। ‘पारि गएको डुंगा यता नल्याइँदासम्म डुंगा चढ्न पनि पालो कुर्नुपर्ने,’ उनले भने, ‘पुल बनेपछि स्थानीयले विकासको अनुभूति गर्न पाएका छन्।’ अब चिसापानी र कुइने क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न आवश्यक रहेको उनको भनाइ छ। दुई प्रदेश जोड्न मोटरेबल पुल निर्माण भएपछि १४ किलोमिटर दूरीमा महेन्द्र राजमार्गको चिसापानी पुग्न सकिने भएकाले व्यापारमा सजिलो भएको चौकुने गाउँपालिका वडा नम्बर १० का व्यापारी भक्त जैसी बताउँछन्।

‘यहाँबाट कर्णालीको राजधानी वीरेन्द्रनगर पुग्न मात्रै करिब ६५ किलोमिटर यात्रा गर्नुपर्छ। त्यहाँबाट नेपालगञ्ज र कैलाली आउन फेरि सयौँ किलोमिटर जानुपर्छ,’ जैसीले भने, ‘पुल बनेपछि महेन्द्र राजमार्गको दूरी १४ किलोमिटरमा छोटिएको छ। यसले हामीलाई सुदूरपश्चिम र लुम्बिनी जान सहज भएको छ।’  दुई दशकअघिसम्म यही बाटो भएर कर्णालीका हिमाली जिल्लाका बासिन्दा खाद्यान्न, लत्ताकपडा जोहो गर्न कर्णालीको चिसापानी जाने गरेका थिए।