दादुरा विरुद्धको खोप लगाए कैलालीका दुई जनामा दादुरा पुष्टि, नमुना परीक्षण हुँदै
2023/01/22, 4:53
 
ss

कैलाली जिल्लामा दुई जनामा दादुरा देखिएको छ भने शङ्कास्पद दुई जनाको नमुना सङ्कलन गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय कैलाली प्रमुख लालबहादुर धामीका अनुसार गोदावरी नगरपालिका‐३ भैसीहारका पाँच वर्ष १० महिना र गौरीगङ्गा नगरपालिका‐६ का १८ महिने बालकमा शुक्रबार दादुरा पुष्टि भएको हो । 

उहाँका अनुसार दुवै बालकले दादुराविरुद्धको खोप लगाए पनि दादुरा देखिएको छ । गौरीगङ्गाको बालकमा डोटीबाट फर्केपछि दादुरा देखिएको हो । यस्तै, गरेर धनगढी उपमहानगरपालिका‐ १ पशुपति टोलका दुई बच्चामा पनि दादुराको लक्षण देखिएपछि उपचार भइरहेको छ । उनीहरूको नमुना सङ्कलन गरेर ल्याबमा पठाइएको छ । 

धनगढीका साढे तीन वर्षका एक बालकले आधा खोप लगाएर र अर्का खोप नलगाएका पाँच वर्षीय बालक भारत गएर फर्किएपछि दादुरा देखिएको उनले बताए । धनगढीका ती दुवै बालक छिमेकी हुन् । उनीहरूका अभिभावकहरू बच्चासहित रोजगारीका लागि भारत आउने जाने गर्नाले खोप छुटेको हुनसक्ने स्वास्थ्य कार्यालयले अनुमान गरेको छ ।  बालबालिकाले जन्मेदेखि १५ महिना भित्रमा १३ वटा खोप लगाउनुपर्छ । केही गरेर ती खोप छुटेमा पाँच वर्ष भित्र लगाउनुपर्छ ।