कैलालीको गौरीगङ्गा नगरपालिका २ मा आँखा शिविर सम्पन्न
2023/01/24, 12:28
 
ankha

कैलालीको गौरीगङ्गा नगरपालिका २ स्थित प्राथमिक  स्वास्थ्य केन्द्र चौमालामा आँखा शिविर सोमबार सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी गौरीगङ्गा उपशाखाको आयोजना,च्यारिटी हेल्थ फाउन्डेसन नेपाल,धनगढी नेत्रालय प्रा.लि.को प्राविधिक सहयोग तथा गौरीगङ्गा नगरपालिका कार्यालय चौमालाको आर्थिक सहयोगमा सो शिविर सञ्चालन भएको हो ।

शिविरमा १ सय ४५ जना पुरुष र २ सय ६५ जना महिला गरि ४१० जनाले आँखाको उपचार सेवा पाएका थिए। आँखामा मोतीया बिन्दु समस्या भएका ६५ जना बिरामीलाई धनगढी नेत्रालय प्रा.लिमा अप्रेसनको लागि प्रेषण गरिएको छ । आँखा जाँच गरिएका ८४ जनालाई चस्मा र ३९० जनालाई निःशुल्क औषधि  वितरण गरिएको थियो । 

  गौरीगङ्गा नगरपालिका उप प्रमुख भोज बहादुर बमले नगरवासीलाई गाउँ घरमै आवश्यकता अनुसार  आँखामा समस्या भएका बिरामीलाई नगरपालिकाले ११ वटै वडाको लागि सहयोग गरेको  र आगामी दिनमा पनि सहयोग रहने कुरा बताए । 

नेपाल रेडक्रस सोसाइटी गौरीगङ्गा उपशाखा सभापति छत्र बहादुर बमले शिविरमा निःशुल्क आँखा जाँच ,औषधि,नजिक देखिने चस्मा वितरण तथा नेत्रालयमा निःशुल्क अप्रेसन हुने बताए । वडा न २ का वडा अध्यक्ष जनक साउद,कार्यपालिका सदस्य विशाल खवास,   रेडक्रसकर्मी तथा समाजसेवी लगायतको सहभागिता रहेको थियो । शिविरमा धनगढी नेत्रालय प्रा।लि।का नेत्र सहायक शशी बुढा,केशव मास्कीको टोलीले आँखा जाँच गरेका थिए ।