सुदूरपश्चिमका मुख्यमन्त्री रावलद्धारा भूकम्प प्रभावितको उद्धार र उपचारमा खटिन निर्देशन
2023/01/25, 2:00
 
सुदूरपश्चिमका मुख्यमन्त्री रावलद्धारा भूकम्प प्रभावितको उद्धार र उपचारमा खटिन निर्देशन

धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले भूकम्प प्रभावितहरुको उद्दार र उपचारका प्रभावकारी रुपमा काम गर्न निर्देशन दिएका छन् । मंगलबार बाजुराको हिमाली गाउँपालिका र हुम्लाको ताजाको गाउँपालिकाको सीमा क्षेत्र मैला केन्द्रविन्दु भएर गएको भूकम्प प्रभावितहरुको उचित व्यवस्थापनका लागि पनि रावलले निर्देशन दिएका हुन् । मुख्यमन्त्री रावलले प्रदेश मुख्यसचिव, सामाजिक विकास मन्त्रालयका सचिव र प्रमुख जिल्ला अधिकारीसित सम्पर्क गर्दै उक्त निर्देशन दिएका हुन् ।

तराईका जिल्लामा समेत धक्का महसुस भएको भुकम्पले बाजुरासहितका पहाडी जिल्लामा भएको क्षतिप्रति गम्भीर बन्दै सोहीअनुसार खटिन सुरक्षा निकाय प्रमुखहरुलाई निर्देशन दिएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ । मुख्यमन्त्री रावलले अझै भूकम्पका पराकम्प आउन सक्ने भन्दै चनाखो रहन समेत सबैलाई आग्रह गरेका छन् । मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको मेला केन्द्रविन्दु भएर ५.९ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पका कारण बाजुराको गौमुल गाउँपालिकामा महिलाको मृत्यु भएको छ भने जिल्लामा अन्य तीन जना घाइते भएका छन् ।

भूकम्पमा परेर दुई जना घाइते भएका छन् । जंगलमा भेडा चराइरहेका बेला भूकम्प जाँदा खसेको पहिरोमा परेर गौमुल गाउँपालिका–१, का रामदल बोहरा घाइते भएका प्रहरीले जनाएको छ। उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको डिएसपी थापाले जानकारी दिए । उक्त पहिरोमा ३५ वटा भेडा पुरिएर मरेको बुझिएको प्रहरीले जनाएको छ । त्यस्तै हिमाली गाउँपालिका–६, मा भूकम्प गएका बेला भाग्ने क्रममा आत्तिएर एक महिला बेहोस् भएकी छन् । हुम्लाको ताजाकोट घर भइ दिदीको घर आएकी सरिता नेपाली बेहोस् भएकी हुन्। उनको होस् खुलेको र गाउँको स्वास्थ्य संस्थामा उपचार भइरहेको डिएसपी थापाले बताए ।भूकम्पले बाजुरा र बझाङमा बढी क्षति भएको छ । बाजुरामा ३४ वटा घरमा क्षति पुगेको विवरण प्राप्त भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यमध्ये पाँच वटा घर पूर्णरुपमा भत्किएका छन् । त्यस्तै, २१ घर चर्केर आंशिक क्षति पुगेको र आठ वटा घरमा सामान्य क्षति पुगेको डीएसपी थापाले जानकारी दिए । बडीमालिका, बुढीनन्दा, हिमाली, गौमुललगायत पालिकामा घरमा बढी क्षति भएको देखिएको उनले बताए ।त्यस्तै बझाङमा भूकम्पमा परी एक जना घाइते भएका छन् भने ३२ वटा घरमा क्षति पुगेको प्रहरी विवरण छ । भूकम्प गएपछि आत्तिएर घरबाहिर निस्कन खोज्दा जयपृथ्वी नगरपालिका–११, का हरिकृष्ण जोशीको बाँया हात भाँचिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लाभरि ३२ वटा घरमा भूकम्पले क्षति पु¥याएको विवरण संकलन गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रमेश अवस्थीले जानकारी दिए ।बडिमालिका नगरपालिका वडा नं ७ हरिचन्द्र उपाध्याय धनबहादुर विक ९ को हर्क गुरु र विरजिते चँदारा गरी चार जनाको घर पूर्ण रूपमा भत्किएको छ । उनले बाजुराका अधिकांश नयाँ तथा पुराना घर छाना र बूढीनन्दा नगरपालिकाको भवन समेत चर्किएको जानकारी दिए ।

बाजुराका विभिन्न ठाउँमा भूकम्पले भौतिकरुपमा ठूलो क्षति गरेको र ४० भन्दा बढी भेडा बाख्रा पनि मरेको स्थानीयवासी बताएका छन् । बाजुराका अधिकांश ठाउँमा भौतिक संरचनामा ठूलो क्षति भएको भन्ने कुरा आए पनि यकिन तथ्याङ्क आइसकेको छैन ।त्यसका लागि विभिन्न ठाउँमा प्रहरी टोली परिचालन गरिए पनि यकिन तथ्याङ्क प्राप्त भइनसकेको जानकारी जिल्ला प्रशासन कार्यालय बाजुरा बाजुराका पुष्कर खड्काले बताए ।भूकम्पले बझाङ जिल्ला सदरमुकाम चैनपुरस्थित कृषि ज्ञान केन्द्रको पुरानो भवन, जिल्ला अस्पताल सिमखेतको पुरानो भवन, दौलिचौर प्रहरी चौकीको भवनमा पूर्ण क्षतिपुगेको छ । भूकम्पले जयपृथ्वी नगरपालिका–४ गङखेतमा रहेको भवानी सामुदायिक विद्यालयको घर भत्काएको छ ।भुकम्पले बडिमालिका नगरपालिका र हिमाली गाउँपालिकामा गरेर अहिलेसम्म ६ वटा घर भत्काएको प्रारभ्मीक विवरण प्राप्त भएको छ भने विस्तृत विवरण संकलको काम जारी छ । बझाङको चैनपुरमा कृषि ज्ञान केन्द्रको भवन भूकम्पले भत्काएको छ । उक्त भवन हाल सशस्त्र प्रहरीले प्रयोग गर्दै आएको थियो। त्यस्तै, चैनपुरस्थित एक होटलको छतमा बनाइएको मन्दिर भूकम्पले भत्केको छ । बाजुरा केन्द्र बिन्दु भएर गएको भूकम्पको धक्का, बैतडी, बझाङ, आछाम, डडेल्धुरा र धनगढीलगायतका जिल्लामा महसुस गरिएको छ । अन्य जिल्लामा कुनै धनजनको क्षति नभएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । भूकम्पको धक्का महसुस भएपछि मान्छेहरु घर बाहिर निस्किएका थिए । अघिल्लो भूकम्पका कारण तर्सिएका स्थानीयलाई मंगलबारको भूकम्पले थप त्रसित बनाएको छ । भूकम्प गएपछि धनगढीमासमेत स्थानीय घरबाहिर निस्केका थिए । यस्तै प्रहरीकाअनुसार पहाडी जिल्लामा हिमपात र वर्षाका कारण टेलिफोन सम्पर्क नहुँदा कतिपय वडाको अवस्थाबारे अझै जानकारी प्राप्त हुन सकेको छैन ।