भारतमै बिते आमा–बाबु र बहिनी, अस्पतालको रिपोर्ट ल्याउन पैसा छैन
2023/01/25, 2:55
 
dd

कैलालीको गौरिगंगा नगरपालिका वडा नम्बर १ गोप्काका केशव सिंह भुल दिल्लीमा श्रम गरिरहेका थिए । पुस १७ गते उनको मोबाईलमा फोन बज्यो । अप्रत्यासित खबर सुने लग्त्तै उनी काम छोडेर अस्पताल हिडे । उनलाई फोनमा मामा, माईजुको मृत्युको खबर पुगेको थियो । भारतको उत्तरखण्डमा मजदुरीको काम गर्दै आएका  उनका मामा ३६ वर्षीय चन्द्रबहादुर भुल, उनकी माईजु ३५ वर्षीया श्रीमती कुमारी भुल र भुल दम्पत्तिका २ वर्षीया छोरीको कोठामा निस्सासिएर मृत्यु भएको खबर उनले पाए। 

१६ गते राति मृत्यु भएपनि उनले ढिला गरि खबर पाएको बताए । उनले अहिलेसम्म मृत्युको वास्तविक कारण भने सुन्न पाएका छैनन्। घरमै भेटिएका उनले भने -एक हप्तामा अस्पतालको रिर्पोट आउँछ भनेका थिए । आर्थिक अवस्था कमजोर छ । रिर्पोट ल्याउन  कसरी जाने होला ?  कोठाभित्र निस्सासिएर मरेको भन्ने शुरूमा सुनेको हो तर, तेस्रो तलामा बस्दै आएको सो कोठामा हावा प्रवाह राम्रै थियो । यो कारण विश्वास गर्ने आधार छैन, उनले भने ।

मृतक भुल घर मालिकको घरमा खाना बनाउने काम गर्थे । हरेक वर्षको छरछ महिनामा घर आवतजावत गरिरहेका भुल भाईटिका मनाउन भनी घर फर्केका थिए । तर, उनी भाईटिका नलगाई श्रीमती र कान्छी छोरी लगएर भारतमा रोजगारी गरिरहेका थिए ।

बालबालिका सहाराविहीन
स्वर्गीय भुलका चार छोराछारी हुन् । कान्छी छोरी संगै मरेपछि घरमा तीन जना छन् । उनका छोराछोरी गौरिगंगास्थित पशुपति माविमा अध्ययन गरिरहेका छन् । जेठो छोरा भुवन कक्षा ७, माहिली छोरी पुजा कक्षा ४ र साहिली आशा कक्षा १ मा पढ्दै छन् ।

पुजा स्कुलमा थिईन। पुजा र भुवन विदा भएकोले घरमै भेटिए । बुबा गुमाएपछि उनीहरूको हेरचाहको जिम्मेवारी बजैको काँधमा छ । उमेरले ६३ वर्ष पार गरिसकेकी जसुलाई नातीनातीनाको हेरचाह कसरी गर्ने भन्ने चिन्ता छ ।  जसुका श्रीमान ओछ्यानमा सुतेका थिए । घरभन्दा केही वरको गोठजस्तै कोठामा जसुका ८५ वर्षिय श्रीमान कासे सुतिरहेका थिए । उनी हिड्डुल गर्न सक्दैन्थे । जसुको आँखा छोराको यादमा भिजेको थियो । भीत्रबाट स्वर सुनियो ऐ नरोउँ । 

सहारा चाहिएको बेला सहारा बनिरहेको छोरा बुहारीको मृत्युको खबरले मन दुखेको छ भने नातीनातीना कसरी हेर्ने भन्ने चिन्ता  छ उनले भनिन् घरमा खानाको जोहो गर्न त समस्या छ । नातीनातीनाको कपडा, किताब, स्वास्थ्यपचार कहाँबाट गर्ने हो ? जसुले घरमै बाँसबाट छाप्रा र डोका घर आँगनमै बनाउने गरेकी छिन् । त्यो पनि तयार गर्न हप्ता दिन लाग्छ । बनाएपनि विक्री गर्न समस्या हुने गरेको बताईन । उनले भनिन यसैले घर गुजारा नहुने भएपछि उनका छोराहरू भारततिर लागेका हुन् । 

भुलका जेठो दाइ पनि छन् । तर, उनको एक हात कमजोर हुँदा आफ्नै घरपरिवार पाल्न मुस्किल रहेको छ । जेठो छोराका पनि छोराछोरी छन् । उस्ले पनि यीनिहरूको जिम्मा लग्न सक्ने अवस्था छैन ।

घर पनि कटानको जोखिममा
भुलको घर छेउमै नदि छ । नदीमा तटबन्धन छैन । नदीका कारण घर कटानको उच्च जोखिममा छ । एक कठ्ठा जमिन छ । नदीको धार परिवर्तनले बर्सेनि कटान हुँदै छ । जग्गा र घर धेरै दिन यो नदीबाट बच्ला जस्तो छैन् ।

सहयोग गर्दै स्थानीय
भुलका छोराछोरीबारे जानकारी पाएका स्थानियहरू खाद्यान्न तथा रकम लिएर सहयोग गरिरहेका छन् । स्थानिय तहले पनि सो परिवारलाई क्रिया खर्च तथा अन्य रकम सहयोग गरेको थियो । वडा कार्यालयले बालबालिकाको निशुल्क शिक्षाको व्यवस्था गर्ने आश्वासन दिएको छ । जसु भन्छिन अहिले त केही सहयोग पाईरहेका छौ तर, वर्षभरी त कति सहयोग गर्लान । त्यसै नातीनातीना लालनपालनको जिम्मा सरकार वा कुनै संस्थाले लगेको सजिलो हुने थियो ।