धनगढी - बाजुराको बिच्छ्या केन्द्रबिन्दु भएर गत बिहीबार ५.९ रेक्टरको भूकम्प गयो । त्यसको असर सिद्धेश्वरी आवासीय आधारभूत विद्यालयमा पनि पर्यो । बूढीनन्दा नगरपालिका–९ पाण्डुसेनको काँध नजिक डप्कामा रहेको विद्यालयका भवन चिराचिरा भए ।
कक्षा कोठाभित्र बस्न सक्ने अवस्था रहेन । केही उपाय नभएपछि विद्यालयले बालबालिकालाई अहिले हिउँले ढपक्क ढाकिएको चौरमै राखेर पढाइरहेको छ ।
कठ्यांग्रिँदो जाडोमा हिउँमाथि बसेर पढ्नुपर्ने बाध्यता एकातिर छ भने आवासीय विद्यालय भएकाले यहीं बस्ने ६० बालबालिका जोखिममै रात बिताइरहेका छन् । भूकम्पले भवन चिराचिरा पारेपछि बालबालिकालाई सुताउन पनि जोखिम भएको प्रधानाध्यापक तुलाबहादुर रावतले बताए । ‘दिउँसो पढाउने र राति आवासीय बालबालिकालाई त्यहींको कोठामा सुताउने गर्थ्यौं,’ उनले भने ‘भुइँचालोले ती कोठा फनि चर्केका छन् कति बेला भत्किन्छ भन्ने डरले रातभरि झस्काइरहन्छ । अर्को विकल्प नभएकाले चर्केका कोठामै बच्चालाई सुताउन बाध्य छौं ।’
कक्षा ५ सम्म पढाइ हुने विद्यालयमा प्रारम्भिक बालविकास केन्द्रका सहित १ सय ३६ विद्यार्थी अध्ययनरत छन् । ‘अघिपछि पनि धेरै जाडो हुन्छ, हिउँ परेका बेला त चौरको हिउँ हटाएरै बस्नुपर्छ,’ कक्षा ५ का लप्टुक भण्डारीले भने । हिउँदको समयमा पाण्डुसेनको काँध क्षेत्रमा वर्षा नभएका बेला पनि चिसो सिरेटो चल्छ । त्यसैमा हिमपात भएपछि यतिबेला खपिनसक्नु जाडो छ । पुस–माघमा हिमपात पर्ने भएकाले बालबालिकाले निकै सास्ती खेप्नुपरेको प्रअ रावतले बताए । ‘भवन पहिला नै जीर्ण थियो । भुइँचालो आएपछि चिराचिरा भयो । अहिले त कक्षाकोठाभित्र बस्न मिल्ने अवस्था छैन,’ उनले भने, ‘विद्यालय बन्द गरिरहन पनि भएन, त्यसैले प्रांगणको हिउँ पन्छाएर पढाउने गरेका हौं ।’
सिद्धेश्वरी जिल्लाको एकमात्र आवासीय विद्यालय हो । शैक्षिक गुणस्तर खस्किँदै गएकाले समुदायले गत भदौदेखि यसलाई आवासीय विद्यालय बनाए । अहिले यहाँ ६० बालबालिका आवासीय छन्, उनीहरू घर जान पाउँदैनन् । विद्यालयमा अत्यावश्यक भौतिक पूर्वाधार भने छैनन् । माटोको गारोको चिनाइ र जस्तापाताले छाएका दुई वटा भवन मात्र छन् । एउटा चार कोठे, अर्को दुई कोठे । कक्षा पाँचसम्म पढाइ हुने भएकाले ६ वटा कोठा अपुग छ । त्यसैमा एउटा कार्यालय सञ्चालनका लागि प्रयोगमा छ । कोठा अभावका कारण विद्यालयले दुई कोठालाई दिउँसो पढ्ने र राति आवासीय विद्यार्थीलाई सुत्ने व्यवस्था मिलाएको थियो ।
शैक्षिक गुणस्तर खस्कँदै गएकाले विद्यार्थीलाई विद्यालयमै राखिएको व्यवस्थापन समिति अध्यक्ष प्रेमसिंह गुरुङले बताए । यहाँ अधिकांश भोटे जनजाति समुदायको बसोबास छ । अभिभावकले नै घरघरबाट माना चामल उठाएर आवासीय बालबालिकाका लागि पठाउने गरेका छन् । ‘हाम्रा बालबच्चाको पढाइ साह्रै कमजोर भएकाले विद्यालयमै बसाउने निर्णय गरेका हौं,’ उनले भने, ‘सहयोग कतैबाट पनि छैन, कसैले सहयोग गरिदिए त सजिलो हुने थियो ।’ बालबच्चा विद्यालयमै राखेका अभिभावकले ६ महिनाका लागि एक विद्यार्थी बराबर ५० किलो चामल, ८ किलो दाल, ५ किलो तरकारी, ३ पोका नुन र ४ पोका तेल दिने गरेका अध्यक्ष गुरुङले बताए ।
जीर्ण र चर्केका कोठाभित्र राख्न नसकेर बालबालिकालाई घर पठाउने विकल्प पनि विद्यालयसँग नभएको प्रधानाध्यापक रावत बताउँछन् ।