सुदूरपश्चिमलाई हेर्ने दृष्टिकोण बदलिएको छैनः कांग्रेस सांसद बलायर
2023/02/01, 5:07
 
ss

नेपाली कांग्रेसका सांसद बीरबहादुर बलायरले मुलुक संघीयतामा गएपनि सुदूरपश्चिमलाई हेर्ने दृष्टिकोण नबदलिएको बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बैठक बोल्दै उनले सुदूरपश्चिमले संघीयताको पहिलो पाँच वर्षमा आफ्नै राजधानी समेत तय गर्न नसकेको बताए ।  ‘सातै प्रदेशमा राजधानी तोकिएका छन् । अरु प्रदेशका राजधानी पहिल्यै बनिसकेका सहरहरूमा तोकिएको छ । तर, सुदूरपश्चिममा जंगलमा राजधानी घोषणा भएको छ,’ उनले भने, ‘न ठाउँ फेर्न सक्ने अवस्था छ, न त कुनै संरचना बनाउन सकिएको छ ।’

उनले प्रदेशले राजधानी बनाउन नसक्ने भन्दै संघीय सरकारले त्यसका लागि बजेट र आवश्यक प्रक्रिया खुला राखिदिनुपर्ने बताए । ‘मुलुकको आवश्यकतालाई महसुस गरेर हामीले सरकारलाई समर्थन दिएका हौं । तर, सरकारले प्रदेश राजधानीको जमीनको भोगाधिकार रोकेर राखेको छ । प्रदेश आफैंले प्रदेशको राजधानी बनाउन सक्ने अवस्था छैन,’ उनले भने, ‘हामीले विश्वासको मत यसका लागि दिएको होइन ।’

उनले बितेको पाँच वर्षमा सुदूरपश्चिममा एउटा पनि राष्ट्रिय गौरवको आयोजना नदिएको बताए । ‘बितेको पाँच वर्षमा सरकारले एउटा पनि राष्ट्रिय गौरवको आयोजना दिएन, अहिले पनि छैन । गेटा मेडिकल कलेज बनाइएको छ, तर सञ्चालन भएको छैन । सरकार त्यो मेडिकल कलेज सञ्चालन गर्न तत्पर छैन । अहिलेसम्म कार्यविधि समेत बनेको छैन,’ उनले भने ।  सांसद बलायरले संसद्मा राजनीतिक शक्तिहरूको गतिविधि हेर्दा अहिलेको संविधान नै जोखिममा परेको अनुभूति हुने बताए ।